२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

ताइवानको युवेन टोंग मेरिट एशोसियशनद्वारा तीनवटा संस्थालाई आर्थिक सहयोग

आइतवार , आश्विन १३, २०८१

भैरहवा, १३ असोज ।
युवेन टोंग मेरिट एशोसियशन, ताइपेई, ताइवानले रुपन्देहीका तीन संस्थालाई आर्थिक सहयोग गरेको छ । उक्त संस्थाले बुटवलस्थित मानव सेवा आश्रमलाई रु. ५ लाख, मायादेवी गाउँपालिका–८ लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहलाई रु. ३ लाख र सिद्धार्थनगर–३ स्थित संस्कृत विद्या सन्यास आश्रम भैरहवालाई रु. २ लाख गरी रु. १० लाख सहयोग गरेको हो ।
युवेन टोंग मेरिट एशोसियशनका अध्यक्ष लिउ मेंग, चिह (लक्की) को नेतृत्वमा रहेको ९ जनाको टोलीले तीनैवटा संस्थामा पुगेर रकम हस्तान्तरण गरेका हुन् ।

एशोसिएशनले मानव सेवा आश्रमका अध्यक्ष लोकराज भुसाल, बालगृहकी सञ्चालक कृष्णमाया गुरुङ र संस्कृत विद्या सन्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी शान्तानन्द सरस्वती महाराज र आश्रमका अध्यक्ष भविलाल पौडेललाई उक्त रकम हस्तान्तरण गरेको समाजसेवी लक्ष्मण भण्डारीले बताए । 

‘विगत १५ वर्षदेखि युवेन टोंग मेरिट एशोसियशनका अध्यक्ष लिउ मेंग, चिह (लक्की)सँग मेरो चिनजान छ, उहाँमा केही गरौं भन्ने भावना रहेछ । नेपालको सामाजिक क्षेत्रमा पनि केही गर्नुस् भनेर प्रस्ताव राखे, उहाँले सहर्ष स्वीकार्दै आफै आएर सहयोग हस्तान्तरण गर्नुभयो, ’भण्डारीले भने । यही संस्थाले तनहुँमा खानेपानीमा पनि सहयोग गरेको भण्डारीले जानकारी दिए । भण्डारी चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) का सल्लाहकार समेत हुन् ।

सो अवसरमा मानव सेवा आश्रमका अध्यक्ष भुसालले आश्रमलाई सहयोग गरेको भन्दै संस्थालाई धन्यवाद दिए । 

सिद्धार्थ बाल गृहकी सञ्चालक कृष्णमाया गुरुङले बाल गृहको भाडा तिर्न समस्या भएको बताइन् । उनले भनिन्, ‘सहयोग गर्ने युवेन टोंग मेरिट एशोसियशन र पहल गर्ने व्यक्तित्वहरुलाई धन्यवाद दिन चाहन्छु ।’

संस्कृत विद्या सन्यास आश्रमका निवर्तमान अध्यक्ष डी.आर. शर्माले २०१८ सालमा आश्रमको स्थापना भएको बताए । उनले आश्रम ४ विगाह ४ कठ्ठा क्षेत्रफलमा रहेको र यहाँ कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गरिदै आएको बताए ।

आश्रमका पीठाधीश श्री १००८ स्वामी शान्तानन्द सरस्वती महाराजले भने, यो संस्था यहाँहरुप्रति आभार व्यक्त गर्दछ । संस्थाले प्राप्त गरेको रकम गलत ठाउँमा प्रयोग हुँदैन । यहाँ विपन्न वर्गका विद्यार्थीहरु अध्ययनरत छन् ।

उद्योग व्यापार संगठन रुपन्देहीका पूर्वअध्यक्ष, सल्लाहकार तथा भीम अस्पताल विकास समितिका पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारीले संस्थाले मानवीय सेवा र सामाजिक कार्य गरेको बताए । उनले भने, ‘यो संस्थाले तनहुँमा खानेपानीको क्षेत्रमा पनि काम गरेको छ ।’

संगठनकी महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

WhatsApp Image 2024-09-28 at 6.05.54 PM.jpeg
IMG_0101.JPG
IMG_0083.JPG