
आइतवार , आश्विन १३, २०८१
काठमाडौं, १३ असोज । दुई दिन यताको अविरल वर्षाका कारण खोला तथा नदीमा आएको बाढीले निजी क्षेत्रका १८ वटा भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुगेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले बाढीको कारण १८ बढी आयोजनामा क्षति पुगेको बताएको हो । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले इप्पानलाई प्राप्त जानकारीअनुसार १८ बढी आयोजनाहरुमा क्षति भएको बताए । उनले विगतको भन्दा फरक र ठूलो बाढी आएको कारण पनि जलविद्युत आयोजनाहरुमा बढी क्षति भएको बताए । उनले काठमाडौं उपत्यकाभित्रै धेरै जनधनको समेत क्षति भएको बताए। उनले अहिलेसम्म १७ देखि १८ आयोजनाहरुमा क्षति भएको जानकारीमा आएको बताए । उनले आयोजनामा बाढीका कारण दुई खालका क्षति भएको बताए। जलविद्युत आयोजनाको पावर हाउस,हेडवक्स र सामानहरु बगाउनुका साथै सडक पूर्वाधारबाट विच्छेद भएको बताए ।
उनले बाढीको कारण कुनै आयोजनामा धेरै क्षति नभए पनि आयोजना जाने पहुँच मार्ग बन्न ६ महिना लाग्नेगरी क्षति भएको उल्लेख गरे । उनले धेरै जलविद्युत आयोजनाहरु लागत बढ्ने र समयमा सम्पन्न हुन नसक्ने अवस्थामा पुगेको बताए । उनले सरकारले विगतमा निजी क्षेत्रलाई दिएका सहुलियतहरुलाई निरन्तरता दिँँदै जलविद्युत व्यवसायीहरुलाई राहत दिन जरुरी रहेको बताए । उनले आयोजनाको समय लम्बिएर आयोजना लागत वृद्धि हुने भएकाले व्यवसायीहरु माथि उठ्न नसक्ने अवस्थामा पुग्ने दाबी गरे । उर्जा व्यवसायीहरुलाई सरकारले भन्सार तथा करमा सहुलियत दिन जरुरी रहेको बताए।
उनले सरकारसँग व्यापारिक उत्पादन मिति थप गर्न जरुरी रहेको बताए । बाढीमा क्षति पुगेका आयोजनाका लागि ल्याइने समानमा राज्यले लगाएको २८ प्रतिशत कर घटाउन माग गरे । नेपालसँग कुरा गर्दै उनले गत वर्ष पनि ३१ वटा आयोजनाहरुमा क्षति भएको उल्लेख गर्दै भएका आयोजनाहरुमा सरकारले राहत र भ्याट छुट दिने भनेपनि एक वर्ष पूरा नहुँदै फेरि बाढीले क्षति गरेको बताए । उनले सरकारले निजी क्षेत्रका जलविद्युतलाई तत्काल माथि उठ्नेगरी सहुलियत र छुटको व्यवस्था गर्नुपर्ने बताए ।
बाढीले मान्डु हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको वागमती साना जलविद्युत आयोजना, २२।१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना प्रभावित भएको छ । पाँचथरमा रहेको तल्लो हेवाखोला जलविद्युत आयोजनामा गत वर्षको बाढीबाट पनि प्रभावित भएको थियो । यो पटक पनि पावर हाउस डुबानमा परेको छ । पाँचथर पावरद्वारा प्रवद्र्धित १४।९ मेगावाटको हेवाखोला जलविद्युत आयोजनामा क्षति पुगेको छ । गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनःनिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त भएको हो ।
साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजनाको हेडवक्र्समा क्षति पुगेको छ । सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजनाको बाँध र टेलरेसमा क्षति पुगेको छ । सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ९।६ मेगावाटको माइखोला जलविद्युत आयोजनाको बाँध र प्रशारणलाइनमा क्षति पुगेको छ । फेमे खोला जलविद्युत आयोजना (१ मेगावाट) को बाँध र विद्युतगृह पूणर्रुपमा क्षति पुगेको छ । सिउरीखोला जलविद्युत आयोजना (५ मेगावाट) को टेलरेस, इन्टेक र टनेलमा क्षति पुगेको छ । सुपरन्यादी जलविद्युत आयोजना (४० मेगावाट) को पहुँचमार्गमा क्षति पुगेको छ । इलेप खोला तातोपानी जलविद्युत आयोजना (२५ मेगावाट) को पहुँच मार्गमा ठूलो क्षति पुगेको छ । माथिल्लो त्रिशुली १ जलविद्युत आयोजना (२१६ मेगावाट) को क्याम्प हाउस र पहुँच मार्गमा क्षति पुगेको छ ।
आयोजनाको ३ वटा कन्टेनर बगाएको छ । हेवाखोला जलविद्युत आयोजना (१० मेगावाट) को पहुँचमार्गमा क्षति पुगेको छ । सभाखोला बी जलविद्युत आयोजना (१५।१ मेगावाट)पहुँचमार्ग,पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थाई पुल बगाएको छ । सुपर त्रिशुली जलविद्युत आयोजना (१०० मेगावाट) को २ वटा स्काभेटर,२ वटा लोडर र ३ वटा ट्रिपर बगाएको इप्पानले बताएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij