
आइतवार , आश्विन १३, २०८१
दाङ, १३ असोज ।
लुम्बिनी प्रदेशमा बाढी र पहिरो प्रभावित एक सय ९ जना भन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ । सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा पश्चिम नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी र रोल्पा जिल्लाका बाढी तथा पहिरो प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् प्रतिकार्य योजनालाई प्रभावकारी कार्यान्वयन गर्न तीन वटै सुरक्षा निकाय, रेडक्रस, स्वयंसेवक तथा आम सर्वसाधारण नागरिकहरुमा अपिल गरेका थिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत समुदायका नागरिकबीचको सहकार्यले विपद् प्रतिकार्य योजना कार्यान्वयनमा सहजता आएको हो । प्रदेश सरकारको सहजीकरणमा सुरक्षा निकाय र स्थानीय सरकारले विपद्मा परेकाहरुलाई राहत, पुर्नस्थापनाको काम पनि अघि बढाएका छन् ।
बाढी, पहिरोबाट प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको र पुर्नस्थापनाको काम अघि बढेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिए । उनका अनुसार बाढी र पहिरोको उच्च जोखिममा रहेका स्थानीयहरुलाई सार्वजनिक भवन, छिमेकी तथा आफन्तको घरमा बसेका छन् ।
नवलपरासी बर्दघाट–२ स्थित बासखोलामा ९ जनाको घर बाढीका कारण डुबानमा परेर क्षति भएको छ । स्थानीय कोशबहादुर आले, हरिबहादुर राई, कादर दर्लामी, तोमन सिंह दर्लामी, तिलकुमारी बाह्रघरे, बमबहादुर बाह्रघरे, तिलकबहादुर रुचालको घर तथा गोठमा क्षति पुगेको छ । सुस्ता गाउँपालिका–स्थित ५ बड्काटोलमा बाढी पसेको छ ।
नारायणी नदीको पानीको वहाव बढ्दा बाँध समेत फुटेर पानी बस्तीमा छिरेको थियो । स्थानीय प्रहरी र समुदायका नागरिकलाई सार्वजनिक भवनमा सारिएको छ ।
पाल्पा रैनादेवी छहरा–१ का ज्ञानबहादुर कुमालका १२ जनाको परिवारलाई छिमेकीको घरमा सारिएको छ । बगनासकाली–६ निवासी देवनारायण बस्यालको घर पूर्णरुपमा बस्न नमिल्ने भएपछि दुईजना सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ । तानसेन–५ कैलाशनगर सुकुम्बासी टोलमा पहिरो झर्दा ९ वटा घर जोखिममा परेपछि सुरक्षित स्थानमा सारिएको छ ।
रम्भा–३ ज्ञानिसरा चिर्तौरको घर जोखिममा परेपछि ७ जना परिवारका सदस्यलाई छिमेकीको घरमा सारिएको, निस्दी–५ निवासी नरबहादुर खरुको घर जोखिममा परेपछि तीनजना सदस्यलाई सुरक्षित स्थानमा सारिएको, रैनादेवी छहरा–१ मनिकला कुमाल, ओमप्रकाश कुमाल, रीता कुमाल, सिमा कुमाल, मालती नेपालीको घर जोखिममा परेपछि ११ जना सदस्यहरुलाई आफन्तको घरमा सारिएको छ ।
माथागढी–७ निवासी लोकमायाँ चुहानको घर जमिन भासिदा जोखिममा परेपछी ७ जना सदस्य पुरानो घरमा बसेको, सोही ठाउँ निवासी हिराबहादुर ढेंगाको घर पनि बस्न नमिल्ने भएपछि ४ जना सदस्य पुरानो गोठमा बसेको जनाइएको छ ।
रैनादेवी छहरा–१ निवासी कमला गरम्जाको घर पहिरोले पुरिएपछि तीनजना सदस्यलाई आफन्तको घरमा सारिएको छ । रिब्दीकोट–४ निवासी मिनप्रसादको घर अगाडी पहिरो खस्दा जोखिम बढेपछि चारजना सदस्यलाई सुरक्षित स्थानमा सारिएको हो । पाल्पा तिनाउँ–१ निवास निरज सास्कोटीको घर पहिरोले पुरिएपछी चारजनालाई सुरक्षित स्थानमा सारिएको छ ।
गुल्मी छत्रकोट–५ निवासी कृष्ण विकको घरमा क्षति पुगेपछि तीनजनालाई सुरक्षित स्थानमा सारिएको छ । रोल्पा त्रिवेणी–६ धरमखोला निवासी केशरबहादुर वलीको बाख्रा गोठ भत्किएको छ । त्यस्तै माडी गाउँपालिका–४ बुढागाउँ निवासी गनबहादुर घर्तीको कुखुरा फारममा क्षति पुगेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij