
आइतवार , आश्विन १३, २०८१
भैरहवा, १३ असोज । रुपन्देहीमा शनिबार (हिजो) देखि हराइरहेको दुध बोक्ने गाडी घाघरा खोलामा भेट्टिएपछि गाडीलाई निकालिएको छ । दुध बोकेर भैरहवातर्फ आइरहेको भे १ च २६७६ नम्बरको जीप शनिबार बिहानदेखि हराइरहेको थियो ।
हिजोदेखि खोजतलास भइरहेको गाडी आइतबार (आज) फेला परेपछि निकालिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । क्रेनले गाडी निकालिएको प्रजिअ अर्यालले जानकारी दिए ।
शनिबार बिहान करिब साढे २ बजे सम्मरीमाई गाउँपालिकाबाट हिंडेको गाडी सम्पर्कबिहीन भएको खबर आएपछि खोजतलास गरिएको उनले बताए । उनका अनुसार गाडी तथा गाडीमा रहेका व्यक्तिहरुको सशस्त्र प्रहरीले खोजी सुरु गरेका थियो ।
’नेपाल प्रहरी र नेपाली सेनाले खोजी कार्यमा सहयोग गरेको थियो । सामूहिक प्रयासमा गाडी निकाल्न सफल भयौं, ’उनले भने ।
जीप चालक र सह–चालकको अवस्था अहिलेसम्म अज्ञात रहेकोले खोजी कार्य जारी रहेको प्रजिअ अर्यालले जानकारी दिए ।
सवारीचालक प्रकाश तामाङ र सह–चालक उमेश लोध भने अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले जानकारी दिए ।
सम्मरीमाई गाउँपालिका–५ रोइनिहवास्थित तिवारी दुध संकलन केन्द्रबाट सो गाडी दुध लिएर शनिबार बिहान भैरहवा आउँदै थियो । सोही क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पछाडी रहेको घाघरा खोलाबाट जीप हराएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij