
आइतवार , आश्विन १३, २०८१
दाङ, १३ असोज ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन कायम गर्न र भ्रष्टाचार निवारण गर्न प्रदेश सरकार निर्मम भएर अघि बढ्न खोजेको बताएका छन् । पूर्व विशिष्ट व्यक्तिको सुविधा खारेजीदेखि मुख्यमन्त्री तथा मन्त्रीहरुलाई आचारसंहिता लागू गरेर जनतामा बढ्दै गएको निराशालाई आशामा बदल्ने गरी निर्मम निर्णयहरु गरेर अघि बढेको उनले स्पष्ट पारेका छन् छ ।
सुपा देउराली मन्दिर निर्माण तथा व्यवस्थापन समिति लमही नगरपालिका–५ र रेडियो हाइवे लमही, दाङले संयुक्त रूपमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री आचार्यले सुशासन कायम गर्न र भ्रष्टाचार निवारण गर्न आफू कठोर भएर अघि बढेको बताए । ‘साँच्चै गाडी चढ्ने मन भएको भए त्यो निर्णय किन हटाउँथे । पदबाट हटेको भए पनि गाडी पाउँथे । चालक पाउँथे । डेढ सय लिटर तेल पाउँथे । तर, मैले निर्णय उल्टाए’उनले भने–‘पूर्व विशिष्ट व्यक्तिले पाउने सेवासुविधाको निर्णय उल्टाए । त्यसपछि सबैले गाडी फिर्ता गरे । सरकारले सुशासन कायम गर्दै जनतामा आशा जगाउने काम गरेको छ ।’
आफू नेतृत्व सरकारले नराम्रो काम नगर्ने उनको भनाइ छ । ‘तपाईहरुको शिर निहुँरिन दिनेछैन । छाती चौडा हुनेगरी, सन्देश दिनेगरी काम गर्नेछु । सके राम्रो गर्ने छु, नसके काम बिगार्ने छैन’उनले भने– म मृत्युलाई जितेर बाँचेको हुँ । सेवाको निम्ति सधै समर्पित छु । मनमा खोट भएन भने त्यो मान्छेले काम गरेर देखाउन सक्छ । उपभोक्ता समितिको नाममा हुने बेथिति रोक्न योजना कार्यान्वयनलाई प्रतिष्पर्धात्मक बनाउन सफल भएको उनले बताए । ‘निर्णय गरेको केही समयसम्म दबाबहरु आए तर, हामी निर्णयमा अडिग थियौं’उनले भने–अहिले ठेक्काको काम अघि बढिसकेको छ ।’
कार्यक्रममा लमही नगरपालिकाका निर्वतमान नगरप्रमुख कुलबहादुर केसीले प्रदेश सरकारले अघि बढाएको सुशासन र भष्ट्राचार नियन्त्रण गर्ने कामबाट नागरिकमा आशा जगाउन सफल भएको बताए ।
देउखुरी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा रेडियो हाइवे सञ्चालक समितिका अध्यक्ष लिलाराम खनालले लुम्बिनी प्रदेश सरकारले अगाडि बढाएका कामले नागरिकमा बेग्लै अनुभुति दिन थालेको बताए । कार्यक्रममा मन्दिर व्यवस्थापन समिति र रेडियो हाइवेकोतर्फबाट मुख्यमन्त्री आचार्यलाई सम्मान–पत्र प्रदान गरिएको थियो ।
लमहीमा सुपा देउराली मन्दिर बन्दै
अर्घाखाँचीबाट बसाइँसराइ गरेर दाङ देउखुरी झरेकाहरुको प्रयासमा लमहीमा ढुंगाबाट मात्रै बनेको सुपा देउरालीको मन्दिर स्थापना गर्न थालिएको छ । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गरेको पार्कभित्र मन्दिर स्थापना गर्न थालिएको समितिका अध्यक्ष डिल्लीराज खनालले जानकारी दिए ।
सिमेन्ट र सरिया बिना ढुंगा कुदेर मन्दिर बनाउन थालिएको हो । यो मन्दिरले पर्यटन प्रबर्द्धनमा योगदान पु¥याउने विश्वास गरिएको छ । मन्दिर बनाउन प्रदेश सरकारले साथ दिने, यो वर्ष बजेट उपलब्ध गराउन नसक्ने, अर्काे वर्ष अनुभुति हुने गरी बजेट बिनियोजन गर्ने मुख्यमन्त्री आचार्यले प्रतिवद्धता व्यक्त गरे । ताराप्रसाद खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नारायण प्रसाद भुसालले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij