२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पश्चिम नवलपरासीमा सडक पूर्वाधार कार्यालय खोल्ने लुम्बिनी सरकारको निर्णय

सोमवार , आश्विन १४, २०८१

दाङ, १४ असोज ।
लुम्बिनी प्रदेश सरकारले प्राकृति विपदको सम्भावित घटनाबाट हुन सक्ने क्षतिलाई कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेशमा तीन दिनको अविरल वर्षाका कारण तुलनात्मक रुपमा क्षति कम भए पनि देशभर मानवीय र भौतिक क्षति बढी भएकोमा दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली, परिवारजनमा समवेदना र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । 

विपद अघि, विपदको बेलामा र विपद्पछिको अवस्थामा सबै निकायबाट हुने सहकार्यले सम्भावित घटना न्यूनीकरण गर्न मद्दत पुग्ने भएकाले सबै संयन्त्र परिचालनमा जोड दिइएको भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताए ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी प्रदेशमा सरुवा भएर आएका सचिवहरुको जिम्मेवारी तोक्ने निर्णय गरेको छ । भिमार्जुन पाण्डेलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, भुपेन्द्र थापालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र इश्वराज पौडेललाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको जिम्मेवारी तोकिएको हो ।

त्यस्तै मन्त्रिपरिषद बैठकले नवलपरासी बर्दघाट सुस्ता पश्चिममा सडक पूर्वाधार विकास कार्यालय खोल्ने निर्णय गरेको मन्त्री ढकालले जानकारी दिए । यस अघि प्रदेशका ११ जिल्लामा मात्रै सडक पूर्वाधार कार्यालयहरु थिए । त्यस्तै बैठकले प्रदेश राजपत्र तथा कानुनहरुको सम्पादन र प्रकाशन नियमावली २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ ।