२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

राजधानी क्षेत्रमा पूर्वाधार निर्माणको एकीकृत मापदण्ड लागू गरिनेछ : मुख्यमन्त्री आचार्य

सोमवार , आश्विन १४, २०८१

दाङ, १४ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नदी सभ्यतामा आधारित व्यवस्थित, आधुनिक र हरित शहर निर्माण गर्न एकीकृत मापदण्ड लागू गरिने बताएका छन् ।

राप्ती उपत्यका देउखुरीको वस्ती विकास तथा शहरी योजना र भवन निर्माण सम्बन्धि एकीकृत मापदण्ड २०८१ छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले भविष्यलाई आधार मानेर नमूना राजधानी शहर निर्माण गर्न एकीकृत मापदण्ड लागू गर्न सबैको साथ, सहयोग चाहिने बताएका हुन् । ‘हामीले राजधानी शहरलाई सबै हिसाबले सुरक्षित शहर बनाउने योजना छ’उनले भने–‘शहर निर्माण गर्न चाहिने स्रोतसाधन र बजेटको खोजीमा सरकार लागिपरेको छ ।’ 

अहिलेसम्म देखिएका शहर अव्यवस्थित हँुदा विपदका घटना बढ्ने र क्षति बढी हुने अवस्था रहेको उनको भनाइ छ । अब बन्ने शहरहरु भुकम्प, बाढी, पहिरो लगायतका विपदबाट सुरक्षित हुने गरी मापदण्ड निर्माण गरिने उनले स्पष्ट पारे । 

त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले शहर निर्माणसँग जोडिएका मापदण्डको पूर्ण कार्यान्वयन गरेर अघि बढ्नुपर्ने बताए । ‘मापदण्ड पालना जरुरी छ । अस्तव्यस्त शहर चाहिएको होइन’उनले भने–‘अस्तव्यस्त शहर हँुदा कस्तो अवस्था आउँछ भन्ने उदाहरण बताइरहनु नपर्ला । तसर्थ शहर निर्माणसँग जोडिएका योजनालाई एकीकृत मापदण्ड बनाएर लागू गर्नुपर्छ ।’

प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले शहरभित्रको सडक, खुला क्षेत्र, हरियाली प्रबर्द्धन लगायत अन्य हिसाबले स्मार्ट बनाउने गरी मापदण्डलाई एकीकृत बनाउन थालिएको बताए । ‘बनेका पूर्वाधारलाई सुरक्षित बनाउने अनि नयाँ बन्नेलाई मापदण्ड अनुसार अघि बढाउने योजना हो’उनले भने–‘घरको मापदण्ड, डन्डीको मापदण्ड पनि तोक्ने गरी अघि बढ्दैछौं ।’ 

मापदण्ड बनाउने, डिजाइन पालना गर्ने र निर्माणमा संलग्नहरुको क्षमता अभिवृद्धि गर्ने गरी कार्यक्रम अघि बढाउन थालिएको छ । हाल प्रदेश प्रशासनिक परिसर क्षेत्रभित्र मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसहित १० वटा मन्त्रालयको भवन निर्माणको काम यसै वर्ष सम्पन्न हुने अवस्थामा पुगेको छ भने राजधानी शहर निर्माण गर्न जग्गा विकास कार्यक्रम पनि अघि बढेको छ । 

प्रदेश सरकारले पाँच वर्षको लागि चाहिने २५ अर्ब बजेटको स्रोतकोे खोजी गर्न विभिन्न दातृ निकायहरुसँग छलफल गरिरहेको छ । २० वर्षभित्र १ खर्ब बजेटको लागतमा राजधानी शहर निर्माण गर्न सकिने प्रस्तावना तयार पारिएको छ । 

WhatsApp Image 2024-09-30 at 4.42.34 PM.jpeg

इञ्जिनियर र प्राविधिकहरुसँग छलफल

प्रदेश पूर्वाधार विकास प्राधिकरणले राप्ती उपत्यका देउखुरीको वस्ती विकास तथा शहरी योजना र भवन निर्माण सम्बन्धि एकीकृत मापदण्ड २०८१ छलफल गरेको छ । स्थानीय तहका प्रमुख, उपप्रमुख सहित प्राविधिक तथा इञ्जिनियरहरुसँग छलफल अघि बढाएको हो । 

सोमबार र मंगलबार दुई दिन छलफल गरेर एकीकृत मापदण्डलाई अघि बढाइने जनाइएको छ । शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका थिए । कार्यक्रममा राप्ती गाउँपालिका, शितगंगा नगरपालिका, गढवा गाउँपालिका, लमही नगरपालिका र राजपुर गाउँपालिकाका प्रतिनिधिहरुको सहभागीता थियो ।