२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सरकारमा जान धेरै हतारो गर्दैनौं : बालकृष्ण खांण

आइतवार , फाल्गुण २३, २०७७

भैरहवा, २३ फागुन । 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांणले सरकारमा जाने विषयमा कांग्रेसले धेरै हतारो नगर्ने बताएका छन् । उनले सरकारको विषयमा पार्टीले उचित समयमा उचित निर्णय गर्ने बताए । 

रुपन्देही युवा समूहले शनिबार भैरहवामा आयोजना गरेको हिरोज अफ पब्लिक अवार्ड–२०७७ कार्यक्रममा बोल्दै खांणले भने, धेरै दौडिएमा लडिएला, त्यसैले सरकारमा जाने विषयमा कांग्रेसले निर्णय गरेको छैन ।’ उनले कांग्रेसको संसदीय दलको बैठकले कोभिड–१९ विरुद्धको खोप आम नागरिकको लागि सरकारले व्यवस्था गर्नुपर्ने माग गर्ने निर्णय गरेको बताए । उनले सीमा नाका सञ्चालन हुनुपर्ने उद्योगी-व्यवसायीको मागलाई मध्यनजर गर्दै बेलहिया नाका व्यवस्थित र सुरक्षित ढंगले अविलम्ब सञ्चालन गर्नुपर्ने बताए ।

‘जनताको जीवन रक्षा गर्ने दायित्व सरकार र राज्यको हो, सरकार यसमा जिम्मेवार बन्नैपर्छ, ’खांणले भने ।  विधिको शासन र संविधान नेपालमा स्थापित गर्नुपर्छ भन्ने सबैको चाहना भएको उनको भनाइ छ ।

पूर्वरक्षा मन्त्री समेत रहेका खांणले नेपाली नागरिकलाई संविधानले मुलुकको मालिक मानेको बताए । ‘राष्ट्रपति, प्रधानमन्त्री, सांसद, राजनीतिक पार्टीका नेता र स्वयं राजनीतिक पार्टी मुलुकको मालिक होइन, नेपाली जनता मुलुकका मालिक हुन, ’खांणले भने । सरकारद्वारा विघटित प्रतिनिधिसभालाई फेरी व्यूताइदिने न्यायपालिकाको निर्णय स्वागतयोग्य भएको उनको भनाइ छ । उनले रुपन्देही यूवा समूहले यस क्षेत्रमा विभिन्न माध्यमबाट समाजका लागि योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गर्नु प्रशसंनीय कार्य भएको बताए ।