२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

राहत तथा पुनर्स्थापनाकाे काम तदारुकताका साथ गर्न सरकारलाई समितिको निर्देशन

मंगलवार , आश्विन १५, २०८१

काठमाडौं, १५ असाज । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले राहत तथा पुनस्र्थापनाको काम तदारुकताका साथ गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सम्भव भएसम्म सवै उपाय लगाएर भएपनि प्राकृतिक विपदमा परेको नागरिकको राहत तथा पुनस्र्थापनाको काम तदारुकताका साथ गर्न सरकारलाई निर्देशन दिएको हो ।

त्यस्तै अवरुद्ध भएका सडक सञ्जालहरु यातायातका साथ चल्न सक्ने गरि मर्मत गर्न , हवाई भाडा बढ्न दिन, खाद्यान्नको मूल्यबृद्धि हुन नदिन सरकारको ध्यानाकर्षण गराएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।

अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गरि गन्तव्यमा पुराउनका लागि र थप जनधनको क्षति हुन नदिन सवै तयार गर्न पनि बैठकले सरकारलाई निर्देशन दिएको उनले बताए ।

बैठकमा गृहमन्त्री रमेश लेखकले सवै मिलेर बिपतको चूनौतिको सामना गर्दैै नागरिकको सहज जिवनयापनमा लाग्नुपर्ने बताए । उनले खोज, उद्दार र प्रतिकार्यका लागि तयार गरेकै अवस्थामा प्राकृतिक प्रकोपको घटना भएकाले खोज, उद्दार प्रभावकारी रुपमा भएको उल्लेख गरे । गृहमन्त्री लेखकले प्रभावितलाई अस्थायी आवास बनाउन रकम दिने निर्णय भए अनुसार तीन दिनभित्र पहिलो किस्ता उपलब्ध गराउने बताए । त्यस्तै घटनामा मृत्यु र वेपत्ता भएका नागरिकको परिवारलाई राहत दिने जानकारी दिए ।

क्षतिग्रस्त संरचनाहरुको छिटो भन्दा छिटो निर्माण गर्न सरकारको ध्यान केन्द्रीत रहेको उनले बताए ।