२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘प्राकृतिक विपतको पूर्वतयारी हुन नसक्दा ठूलो जनधनको क्षति’

मंगलवार , आश्विन १५, २०८१

काठमाडौं, १५ असोज् । सांसदहरुले प्राकृतिक विपतको पूर्वतयारी र उद्दारका काम समयमा हुन नसक्दा ठूलो जनधनको क्षति भएको जनाएका छन् । 

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा उनीहरुले मौसम पूर्वानुमान अनुसार ठूलो बर्षा हुन सक्ने आंकलन भएपनि त्यसअनुसारको पूर्वतयारी र उद्दारका काम समयमा हुन नसक्दा ठूलो जनधनको क्षति भएको बताएका हुन् ।

बैठकमा सांसद गगन कुमार थापाले पूर्वतयारी र उद्दारका काममा भएका आलोचनालाई स्वीकार गर्दै उद्दार र राहतका कामलाई थप प्रभावकारी बनाउन सरकारलाई सुझाव दिए । विपद्का बेला सरोकारवाला निकायका प्रमुखहरुले प्रभावकारी भूमिका खेल्न नसकेको उनाको भनाइ छ ।

थापाले रात्रीबस सञ्चालन नगर्ने निर्णय हुदाहुदै पनि सञ्चालन गरेकाले झ्याप्लेखोलामा ठूलो विपत भएको भन्दै यसको छानविन हुनुपर्ने माग गरे ।

त्यस्तै रास्वपा सभापति रवि लामिछानले विपतको पूर्वतयारी राम्रोसंग हुन नसकेको र विपद्पछि राजमार्गमा अलपत्र नागरिकको सहज ढंगले उद्दार हुन नसकेको आरोप लगाए ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले काठमाडौंमा नै उद्दारको काम निकै ढिलाई नभएको र क्षति धेरै भएको बताए । बाटो अवरुद्ध भएका बेला हवाई भाडा निकै महङ्गो भएकाले यसलाई नियन्त्रण गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।


त्यस्तै अन्य सांसदहरुले तीनै तहका सरकारको ध्यान राहत, पुनस्र्थापना र उद्दामा केन्द्रीत हुनुपर्ने, पिडितलाई छिटो सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।