२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जिल्लास्तरीय मेयर कप स्नुकरको उपाधि भैरहवाका शिशिर गुरुङलाई

मंगलवार , आश्विन १५, २०८१

भैरहवा, १५ असोज । भैरहवाका शिशिर गुरुङले भैरहवामा सम्पन्न आठौंं रुपन्देही जिल्लास्तरीय मेयरकप स्नुकर प्रतियोगिताको उपाधि हात पारेका छन् । बुटवलका सञ्जय कार्कीलाई ५–२ ले पछि पार्दै गुरुङ प्रतियोगिताको उपाधि हात पारेका हुन् ।

भैरहवास्थित क्रेजी क्यू क्लब हाउसमा सम्पन्न फाइनल खेलबाट उपाधि हात पारेका गुरुङले नगद रु. ६१ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत भएका छन् । 

IMG_0397.JPG

प्रतियोगितामा उपविजेता बनेका कार्कीले नगद रु .२५ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक एवं संघका सल्लाहकार विजय थापाले जानकारी दिए ।
रुपन्देही पुल तथा स्नुकर संघको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको सहयोगमा सम्पन्न प्रतियोगितामा रुपन्देही, कपिलवस्तु, पाल्पा, स्याङजा र नवलपरासीका १२८ खेलाडीको सहभागीता रहेको थियो । 

प्रतियोगितामा सर्वाधिक ५१ ब्रेकर (स्कोर) तयार पार्ने बर्दघाटका सुजन मगरलाई नगद १० हजार रुपैयाँ र कपबाट पुरस्कृत गरिएको छ । त्यस्तै उदयमान खेलाडीको उपाधि तिलोत्तमाका प्रमोद थैवले प्राप्त गरेका छन् । प्रतियोगितामा फरक क्षमता भएका खेलाडी बुटवलका जमिर मिया खानले बैशाखीको सहायताले पनि उत्कृष्ट खेल प्रर्दशन गरेका थिए । उनीहरुलाई पनि सम्मान गरिएको थियो । 

IMG_0408.JPG

प्रतियोगितामा पत्रकारद्वय दीपक घिमिरे र मोहम्मद हबिव तथा उदघोषिका पुनम कुंवर क्षेत्रीलाई पनि सम्मान गरिएको थियो । 

प्रतियोगिताका विजेता, उपविजेता, सर्वाधिक स्कोरकर्ता, उदयमान खेलाडी, फरक क्षमता भएका खेलाडी तथा पत्रकारलाई सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद् खाँ, संघका अध्यक्ष सुजन पुन लगायतले पुरस्कृत तथा सम्मान गरेका थिए । 

सो अवसरमा बोल्दै नगरप्रमुख खाँले स्नुकर खेलको विकासमा लाग्ने प्रतिवद्धता जनाउदै यसलाई धेरै भन्दा धेरै दर्शकको बीचमा लैजानुपर्नेमा जोड दिए ।  

कार्यक्रममा सिद्धार्थनगर वडा नम्बर १३ का वडाअध्यक्ष सोमबहादुर गुरुङ, संघका संस्थापक अध्यक्ष भुपेन्द्र क्षेत्री, तेक्वान्दो प्रशिक्षक कोशिष बहादुर खड्का, बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव राना लगाएयतले बोल्दै स्नुकर खेललाई अझै व्यापक र प्रभावकारी बनाउदै लैजानुपर्नेमा जोड दिए । 

भैरहवामा सम्पन्न प्रतियोगिताले भैरहवा क्षेत्रका खेलाडीहरुमा उत्साह बढ्नुका साथै स्नुकर खेलप्रति युवाहरुको चासो बढ्दै गएको उनीहरुले बताए । प्रतियोगिताले खेलाडी तथा आयोजकलाई उत्साह थपेको बताउँदै आगामी दिनमा यस भन्दा बृहत र प्रभावकारी रुपमा प्रतियोगिता गर्न हौसला मिलेको बताए ।