२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवामा ‘विशाल भव्य भगवती रात्री जागरण’ हुँदै

बुधवार , आश्विन १६, २०८१

भैरहवा, १६ असोज ।
श्री श्री सार्वजनिक दुर्गा पुजा समिति सिद्धार्थनगर वडा नम्बर ५, मैत्रीपथको आयोजनामा रुपन्दहीको भैरहवामा ‘विशाल भव्य भगवती रात्री जागरण–२०८१’ हुने भएको छ । यही असोज २५ गते शुक्रबार अष्टमी/नवमीको दिन भगवती रात्री जागरण गर्न लागिएको आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

समितिका अध्यक्ष रवि जयसवालले विगत २२ वर्षदेखि मैत्रीपथमा विजया दशमी (दशैं) को अवसरमा मा भव्य रुपमा दुर्गा पूजा हुँदै आएको र गत वर्षदेखि रात्री जागरण सुरु गरिएको बताए । उनले भने, ‘गत वर्ष सबैको साथ र सहयोगले रात्री जागरण भव्य रुपमा सम्पन्न भयो, दोस्रो वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिदैछौं ।’ 

उनले रात्री जागरणमा सुरक्षाका लागि सिसिटीभी क्यामेरा, निःशुल्क स्वास्थ्य परीक्षण, एम्बुलेन्स लगायतको व्यवस्था रहने जानकारी दिए । त्यस्तै असोज २४ गते बिहीबार (सप्तमी) को दिन साँझ ‘डांडीया नृत्य’ कार्यक्रम राखिएको जयसवालले जानकारी दिए । कार्यक्रम गर्न करिब ९ लाख रुपैयाँ खर्च हुने उनले बताए । 

कार्यक्रम संयोजक तथा समितिका उपाध्यक्ष दिपेश गुप्ताले साँस्कृतिक कार्यक्रममा स्थानीयसँगै भारतीय कलाकारको प्रस्तुति हुने जानकारी दिए । समितिका सदस्य विशाल श्रीवास्तवले कार्यक्रममा १ हजार ५ सय बढीको उपस्थिति हुने अपेक्षा गरिएको बताए । 

समितिका सल्लाहकार सतिश कुमार कौसल (दीपक) ले कार्यक्रमलाई भव्य र बृहत बनाउन समिति लागिपरेको बताए । मिलनचोकदेखि राष्ट्रिय वाणिज्य बैंक अगाडिसम्म भव्य रुपमा दुर्गा पुजा गरिदै आएको बताए ।

लुम्बिनी प्रेस क्लब, रुपन्देहीका महासचिव शंकर प्रसाद पाण्डेले धर्म-संस्कृतिको जर्गेना गर्ने खालका कार्यक्रममा सञ्चार क्षेत्रबाट सहयोग रहने बताए ।

सिद्धार्थनगर नगरपालिका–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले रात्री जागरणले सकारात्मक सन्देश दिने र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले यो कार्यक्रमलाई सफल बनाउन वडा र सिद्धार्थनगर नगरपालिकाको कार्यालयबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।