
बुधवार , आश्विन १६, २०८१
भैरहवा, १६ असोज ।
घाघरा खोलामा पुल निर्माणको माग गर्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० का स्थानीयले बुधबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । स्थानीयले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाबाट पक्की पुल निर्माण गर्नुपर्नेमा होचो कजवे बनाइएको र यो हरेक दृष्टिकोणले अनपयुक्त रहेको बताएका छन् ।
‘यस घाघरा खोलाले धेरै मोटरसाइकल बगाइसकेको छ । २०८१ असोज १२ गते शनिबार बिहान दुध बोकेको गाडी खोलाले बगायो र दुईजना मानिसले ज्यान गुमाउनुपर्यो, ’स्थानीय सुखेन्द्र कुमार शाक्यले भने । यो घटनाले यहाँका स्थानीयबासी धेरै नै आतंकित भएको उनले बताए ।
समस्या समाधानका लागि पटकपटक विमानस्थल आयोजनासँग लिखित र मौखिक रुपमा जानकारी गराए पनि कुनै सुनुवाइ नभएको शाक्यले बताए । उनले यस विषयमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० को वडा कार्यालयबाट पनि पहल भएको जानकारी दिए । उनले नागरिकको हित र सुविधाका लागि यशाशिघ्र पुल बनाउनुपर्ने माग गरे ।
‘यस खोलामा आयोजनाको योजना अनुसार पुल नै बन्ने कुरा थियो । तर, कसरी कुन आधारमा यस्तो कजवे बनाउनुभयो, हामीलाई थाहा भएन । मर्चवार तथा पश्चिमतिरको गाउँहरुमा बस्ने बासिन्दाहरु यही बाटो हुँदै आवतजावत गर्छन् । त्यस क्षेत्रबाट दुध, तरकारी तथा कृषि उपजहरु यही बाटो भएर भैरहवा ल्याउने गर्छन् । यो बाटोले भैरहवासँग सम्पर्कका लागि धेरै नै महत्वको राख्छ, ’नेकपा (एमाले) सिद्धार्थनगर वडा नम्बर १० कमिटीका अध्यक्ष समेत रहेका शाक्यले भने । जग्गा अधिग्रहणको समय बाटो नक्शा देखाउँदा पुल नै भएको उनले बताए ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष सुर्जमन यादवले घाघरा खोलामा व्यवस्थित पुल नहुँदा घटना भएको बताए । उनले दुईजनाले ज्यान गुमाउनु निकै दुःखद रहेकोले तत्काल पुल बनाउनुपर्ने माग गरे । ‘विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहणका क्रममा तत्कालिन विमानस्थल आयोजना प्रमुख ओम शर्माले स्थानीयका घर बनाउने लगायत विभिन्न आश्वासन दिनुभयो । तर, ती आश्वासनमा मात्रै सीमित भयो, ’वडाअध्यक्ष यादवले भने ।
नेकपा (एमाले) केन्द्रीय निर्वाचन आयोग सदस्य भरत कुमार पोखरेलले स्थानीयबासीको माग जायज भएको बन्दै तत्काल पुल निर्माण कार्यमा ध्यान दिनुपर्ने बताए ।
ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी अर्यालले यो समस्या समाधान नगरी नहुने बताए । उनले यसमा हरेक दृष्टिकोणले सबै सरोकारवाला एकमत रहेको बताए । उनले भने, ‘यहाँहरुले उठाउनुभएको विषय विपद् व्यवस्थापनको दृष्टिकोणले संवेदनशील छ । पुल किसान, कर्मचारी, बटुवा, विद्यार्थी, पर्यटक, सबैका लागि आवश्यक छ ।’ असोज १२ गते घटना भइसकेपछि विमानस्थल प्रशासनसँग पनि कुराकानी भएको उनले बताए । यसबारे आफूले पर्यटनमन्त्रीसँग पनि यसबारे कुरा गर्ने प्रजिअ अर्यालले बताए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख इञ्जिनियर प्रभुराम थापाले भने, ‘समस्या समाधानका लागि अल्पकालीन रुपमा पनि के गर्न सकिन्छ ? यसबारे छलफल गरेर अघि बढ्छौं ।’
पुल निर्माणको माग गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रभुराम थापालाई ज्ञापनपत्र बुझाइएको स्थानीय विक्रम यादवले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij