
बुधवार , आश्विन १६, २०८१
काठमाडौं, १६ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बाढी पहिरो जस्ता विपद्पछि संक्रामक रोग फैलन नदिन सतर्कता उपाय अपनाउन सरोकारवाला सवै मिलेर काम गर्नुपर्ने बताएका छन् ।
बुधबार मन्त्रालयमा मन्त्रालयमा सरोकारवाला निकायसंग छलफल गर्दै मन्त्री पौडेलले बाढी पहिरो पछि पानीका श्रोत प्रदुषित भएको र यसकै कारण झाडापखाला, हैजा तथा डेंगुलगायतका संक्रामक रोग लाग्न नदिन आफ्नो तर्फबाट तयारी बढाउन र आवश्यक परेका सहयोगबारे जानकारी गराउन आग्रह पनि गरे ।
विपद्का समयमा स्वास्थ्यकर्मीहरुले पुर्याएको योगदानको उहाले प्रसंसा गरे । मन्त्री पौडेलले खानेपानीको शुद्धता बढाउन र कुनै पनि संक्रामक रोग फैलन नदिन स्थानीय तहसम्मै खानेपानी मन्त्रालय र प्रदेश तथा स्थानीय सरकारहरुसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए ।
मन्त्री पौडेलले संघीय राजधानी उपत्यकामा जनसंख्या पनि बढी रहेको र अहिले संक्रमणको जोखिम बढी रहेकाले बढी प्राथमिकता दिएर संक्रमण रोक्न सचेतनासँगै रोकथामका उपाय अपनाइने बताए ।
बैठकमा बोल्दै खानेपानी मन्त्री प्रदीप यादवले पानीको शुद्धता बढाएर नागरिकलाई शुद्ध पानी दिनका लागि शुुद्धिकरण सामग्री वितरण तथा सचेतनाका लागि स्वास्थ्य मन्त्रालयसँग सहकार्य गर्ने बताए ।
बैठकमा बाढी पहिरोबाट बढी प्रभावित काभ्रेप्लाञ्चोक, सिन्धुपाल्चोक, कोशी, मधेश तथा गण्डकीलगायत प्रदेशका स्वास्थ्य सचिवहरुले आफूहरुले प्रदान गरिरहेको सेवाबारे जानकारी गराउँदै पानीको शुद्धिकरण तथा सचेतना फैलाउन मन्त्रालयको सहयोग माग गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij