२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

स्वास्थ्य सेवा सुधार्न सामुदायिक अस्पतालसँग सहकार्य गर्छाैं : मुख्यमन्त्री आचार्य

बिहिवार , आश्विन १७, २०८१

कपिलवस्तु, १७ असोज ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवामा सुधार गर्न प्रदेश सरकारले सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरुसँग सहकार्य गर्ने बताएका छन् । कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टरको उद्घाटन गर्दै नागरिकलाई निरोगी बनाउँदै स्वस्थ समाज निर्माण गर्न सामुदायिक अस्पतालहरुसँग सहकार्य गर्ने बताएका हुन् ।
‘नीतिगत सुधार गरेर हुन्छ कि कार्यविधि निर्माण गरेर हुन्छ प्रदेश सरकार सामुदायिक अस्पतालहरुसँग सहकार्य गर्न तयार छ’उनले भने–‘समुदायलाई निरोगी बनाउनु छ, नसर्ने रोगको समस्या बढ्दो छ । निरोगी बन्न हाम्रो जीवनशैलीमा पनि परिवर्तन ल्याउन जरुरी छ ।’ 

स्वास्थ्य जनचेतना अभिवृद्धि गर्दै उपचारात्मक सेवालाई पनि प्रभावकारी बनाउँदै लगिने उनले बताए । लुम्बिनी प्रदेशभित्र मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषणको अवस्था उच्च रहेको भन्दै सुधारका लागि सामुदायसँग सहकार्य गर्नुपर्ने, त्यसका लागि प्रदेश सरकार तयार रहेको उनले स्पष्ट पारे । 

लुम्बिनी प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्य सेवाको लागि लगानी बढाएको, देशकै ठूलो अस्पताल निर्माणको काम सुरु भएको जानकारी दिदै निरोगी प्रदेशबासी बनाउने अभियानमा सरकार रहेको बताए ।

WhatsApp Image 2024-10-03 at 12.02.56 PM.jpeg

कपिलवस्तुमा उद्घाटन भयो डायलाइसिस सेन्टर

कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टर उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिहीबार एक कार्यक्रमकाबीच बाणगंगा–१ कपिलवस्तु जिल्लामा डायलाइसिस सेन्टरको उद्घाटन गरेका हुन् । मृगौला फेल भएका बिरामीहरुलाई डायलाइसिस सेवा प्रदान गर्न सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा आएको छ ।

WhatsApp Image 2024-10-03 at 12.02.47 PM.jpeg

रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुको सहयोगमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा ल्याएको हो । मृगौला फेल भएका बिरामीहरु यसअघि डायलाइसिस सेवा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । १० वटा डायलाइसिस मेसिन राखिएको छ । दैनिक ६० जना बिरामीलाई सेवा पुर्‍याउन सक्ने क्षमता रहेको छ । 

५ करोडको लगातमा डायलाइसिस सेन्टर स्थापना गरिएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए । एकजना बिरामीले हप्ताको दुई दिनदेखि तीनसम्म डायलाइसिस गर्नुपर्ने अवस्था रहेको डायलाइसिस सेन्टरले जनाएको छ । 

लुम्बिनी प्रदेशमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले चारवटा डायलाइसिस सेन्टर सञ्चालनमा ल्याएको छ । दाङको लमही, पाल्पा, वालिङ्ग र कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टरबाट बिरामीले सुविधा लिदै आएका छन् । चारवटा शाखा र एउटा अस्पताल गरी पाँचवटा स्वास्थ्य संस्थाबाट पाँचसय जनाले नियमित डायलाइसिस सेवा लिदै आएका छन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले लुम्बिनी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा नमुना बनाउने गरी सरकारले भूमिका बढाएको बताए । उनले गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सामुदायिक अस्पतालहरुसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । 

पूर्व स्वास्थ्यमन्त्री तथा प्रदेश सभा सदस्य विष्णु पन्थीले सामुदायिक स्वास्थ्य संस्थाहरुले नागरिकको स्वास्थ्य उपचारमा अतुलनीय योगदान पुर्याएको चर्चा गर्दै सरकारी क्षेत्रबाट सहयोगको हात अघि बढाउनुपर्ने बताए । नसर्ने रोगबाट मानिसहरु धेरै पीडित हुन थालेकोप्रति चिन्ता व्यक्त गर्दै उनले स्वस्थ जीवनयापनको लागि ध्यान दिन आग्रह गरे । 

कार्यक्रममा प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपाने, रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का इमिडेट पास्ट डिष्ट्रिक गभर्नर राजेन्द्र प्रसाद ध्वजु, बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल, बुद्धभूमि नगरपालिकाका प्रमुख केशवु श्रेष्ठ, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष दिनेशराज रेग्मी, रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुका अध्यक्ष ज्ञानहरी न्यौपाने, कपिलवस्तु जेसीजका अध्यक्ष प्रविण पौडेल, मृगौलारोग विशेषज्ञ डा.रजत कायस्थ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा.समिर गौतमको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण बावुराम बोहराले गरेका थिए ।