
बिहिवार , आश्विन १७, २०८१
बुटवल, १७ असोज ।
हिन्दूहरुको महान चाड बडादशैंको आगमनसँगै बढ्दै गइरहेको भिडभाड तथा यात्रु र सवारीसाधनको सुरक्षा तथा सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले रुपन्देहीको बुटवलको बसपार्कमा यात्रु तथा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ ।
यसवर्षको वडादशैंको आगमनसँगै सवारीसाधन र बसपार्कहरुमा आजभोली यात्रुहरुको भिडभाड बढेको छ । वर्षमा एकपटक दशैं मनाउन गाउँघरतर्फ जानेहरुको लर्को नै लाग्ने गरेको दृश्य बसपार्कमा देखिन थालेको छ । भिडभाडको अवस्थामा यात्रुहरुलाई पर्ने समस्या समाधानका लागि सहयोग गर्ने उद्देश्यले बसपार्कमा यात्रु तथा स्वास्थ्य सहायता कक्ष राखिएको हो ।
बुटवल उपमहानगरपालिकाले विभिन्न सरोकारवाला निकाय र संघ–संस्थाहरुको सहकार्यमा बुटवलको बसपार्कमा यात्रु तथा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए । भिडभाडका कारण यात्रुहरुलाई पर्ने समस्या, गन्तव्य र सवारीसाधनको बारेमा जानकारी, चोरीचकारी लुटपाट लगाएत विभिन्न प्रकारका असुरक्षा, आकस्मिक रुपमा उत्पन्न हुने शारीरिक स्वास्थ्य समस्या लगायतका व्यक्तिगत घटनाका बारेमा समेत सहयोग गर्ने उद्देश्यले हेल्प डेस्क राखिएको शाखा प्रमुख पाण्डेले बताए ।
हेल्प डेस्क शुभारम्भका अवसरमा पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेलले वर्षमा एकपटक आउने दशैंतिहार जस्तो महत्वपूर्ण चाडपर्वमा यात्रुहरुलाई सुरक्षित र मर्यादित तवरले गन्तव्यमा पुर्याउन चालकहरुको दायित्व भएको बताए । व्यवसायी र चालकहरु गम्भिर भएर सेवा भावले यात्रुहरुको हितमा लाग्नुपर्नेमा उनले जोड दिए । यात्रुहरुलाई गन्तव्यमा पुर्याउँदै गर्दा दशैंमा उनीहरुले टीका र जमराका साथमा ठुलाबडाबाट पाएको आशीर्वाद चालकहरु र व्यवसायीहरुलाई पनि प्राप्त हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा सुरक्षित यात्रा नेपालका संरक्षक अर्जुन रानाभाटले चाडपर्वको समयमा हुने सम्भावित दुर्घटना रोक्न विभिन्न उपायहरुको बारेमा चर्चा गर्दै यात्रुहरुको सामान र व्यक्तिगत सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे । दुर्घटना न्यूनीकरणका अभियन्ता नारायण घिमिरे, सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण प्रसाद बेलबासे, पत्रकार हरिश ढकाल, प्रहरी अधिकृतहरु, बस व्यवसायीहरु लगाएतले चालक तथा सहचालकहरुलाई सहजीकरण गर्दै सचेतना जागृतीबारे अभिमुखीकरण गरेका थिए ।
बुटवल उपमहानगरपालिकाको आयोजना र नेपाल प्रहरी, ट्राफिक प्रहरी, बस व्यवसायी प्रा.लि, सुरक्षित यात्रा नेपाल लगायत विभिन्न संघ–संस्थाहरुको सहकार्यमा सञ्चालन गरिएको सो हेल्प डेस्कबाट विभिन्न जिल्ला र शहरहरुको दुरी र टिकटदरबारे जानकारी दिने गरिएको छ । साथै सम्भावित घटना न्यूनीकरणका लागि पनि सचेतना जागृत गर्ने र सजगता अपनाउने विषयमा पनि जानकारी गराउने गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij