
शुक्रवार , आश्विन १८, २०८१
भैरहवा, १८ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य रुपन्देहीको भैरहवामा आयोजना गरिएको सडक खाना महोत्सवमा सहभागी भएका छन् । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको सडक खाना महोत्सवमा सहभागी हुँदै मुख्यमन्त्री आचार्यले यहाँ राखिएका विभिन्न स्टलहरुको अवलोकन गरेका हुन् ।
पर्यटकलाई रैथाने खानाको स्वाद चखाउन महोत्सव सफल हुने, रैथाने खानालाई ब्राण्डिङ्ग गर्ने र यसले स्वदेशी तथा विदेशी पर्यटकलाई लुम्बिनीमा आउन आकर्षित गर्ने मुख्यमन्त्री आचार्यले विश्वास व्यक्त गरे ।
महोत्सवमा मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेय, स्थानीय तहका जनप्रतिनिधि, उद्योगी–व्यवसायी लगायतको सहभागीता छ ।
पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले भैरहवामा सडक खाना महोत्सव आयोजना गरिएको हो । विश्व पर्यटन दिवसको सन्दर्भ पारेर सिद्धार्थ होटल संघ, नेपालको आयोजनामा सडक खाना महोत्सव–२०८१ भएको छ । पर्यटन प्रबर्द्धन गर्न हरेक बर्ष भैरहवामा सडक खाना महोत्सव आयोजना हुँदै आएको छ ।
नेपाली रैथाने खानाको स्वाद स्वदेशी तथा विदेशी पर्यटकलाई चखाउने, नेपाली रैथाने खानालाई ब्राण्डिङ्ग गर्ने उद्देश्यले सडक खाना महोत्सव आयोजना गरिएको सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिए । भैरहवाको देवकोटा चोकदेखि हाटबजारसम्म दुई दिनसम्म सडकमै खाने र राष्ट्रिय कलाकारहरुसँग रमाउने गरी कार्यक्रम आयोजना गरिएको छ । महोत्सवमा विभिन्न तारे होटलका खानाका परिकार छुटसहित पस्किने व्यवस्था मिलाइएको छ ।
लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, स्थानीय पालिकासहित विभिन्न संघ–संस्थासँग सहकार्य गरी दुई दिनसम्म ‘भैरहवा फूड फेस्टिबल तथा म्युजिकल नाइट–२०८१’ आयोजना गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटनको प्रबद्र्धन गरी सिथिल रहेको पर्यटन क्षेत्रलाई उकास्न महोत्सव फलदायी हुने विश्वास गरिएको महोत्सवका संयोजक तथा सिद्धार्थ होटल संघका सचिव विनोद खरेलले बताए ।
महोत्सवमा आन्तरिक, भारतीय तथा तेस्रो मुलुकका पर्यटक अधिक मात्रामा आउने अपेक्षा गरिएको छ । थरिथरिका स्तरीय होटलका स्वाद लिन पाउने भएकाले ५० हजार हाराहारी महोत्सवमा आउने विश्वास गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij