२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोटरी चौतारीको योग अभ्यासमा पथिक फाउण्डेशनको साथ

शनिवार , आश्विन १९, २०८१

बुटवल, १९ असोज । रोटरी क्लब अफ बुटवल चौतारीले क्लबको २२२ औं नियमित बैठकका अवसरमा योगा, ध्यानसहित विजया दशमीको शुभकामना कार्यक्रम गरेको छ । तिलोत्तमा नगरपालिका–३ शंकरनगरस्थित पथिक फाउण्डेशन योगा हलमा आयोजित कार्यक्रममा क्लबका सदस्य रोटरीयनहरुलाई योगा तथा ध्यान गराइएको थियो । त्यस्तै सोही अवसरमा दशैंको शुभकामना आदानप्रदान कार्यक्रम समेत गरिएको थियो ।

कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष दिनेशमणि सुवेदी, पश्चिम नवलपरासीका जिल्ला न्यायाधीश हरि प्रसाद पंगेनी, क्लबका संस्थापक अध्यक्ष डा. विष्णुप्रसाद घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रममा पथिक फाउण्डेशन रुपन्देहीका संयोजक माधव पौडेलले योगा तथा ध्यान, यसको महत्व, यसले मानिसको जीवनमा पार्ने सकारात्मक प्रभावबारे जानकारी गराएका थिए । स्वास्थ्यका लागि योग र ध्यान अपरिहार्य रहेको भन्दै पौडेलले अहिले सबैतिर यसको महत्व बढ्दै गएको र आम नागरिक योगा तथा ध्यानप्रति आकर्षित हुने गरेको बताए । पथिक फाउण्डेशनले शनिबार आफ्नै आर्थिक व्यवस्थापनमा रोटरीयनहरुलाई योग तथा ध्यानमा सहभागी गराएको हो ।

क्लबका अध्यक्ष नुमेन्द्र पौडेलले क्लबले बेलाबेलामा रचनात्मक कार्यक्रम गर्दै आइरहेको जानकारी गराउँदै व्यक्ति कुनै पनि काम गर्नका लागि पूर्णरुपमा स्वस्थ रहनुपर्छ भन्ने मान्यताका साथ शनिबार दशैं शुभकामनाका साथमा सम्पूर्ण रोटरीयनहरुलाई योग अभ्यास तथा ध्यान गराइएको बताए । उनले आगामी कात्तिक २४ गते हुने रक्तदान कार्यक्रममा रोट्रयाक्ट क्लब अफ बुटवल चौतारीले पनि सहभागीता जनाउने बताए । 

रोट्रयाक्ट क्लब अफ बुटवल चौतारीका अध्यक्ष गोविन्द पाण्डेले रक्तदान कार्यक्रममा आफ्नो क्लबले पनि सहकार्य गर्ने जानकारी गराएको पौडेलले बताए । त्यस्तै ररोट्रयाक्ट क्लब अफ भैरहवा चौतारीका अध्यक्ष आकाश पौडेल र इन्ट्रयाक्ट क्लब अफ बुटवल चौतारीका अध्यक्ष राहुल पाण्डेले पनि रक्तदानमा सहकार्य गर्ने भएका छन् । यी तीनैवटा क्लब रोटरी क्लब अफ बुटवल चौतारीका भातृ संस्था हुन् ।