
आइतवार , आश्विन २०, २०८१
भैरहवा, २० असोज ।
सिद्धार्थ सञ्जाल, रुपन्देहीले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विजया दशमी, दीपावली, नेपाल सम्वत एवं छठ पर्वको अवसरमा कार्यक्रम गरिएको कार्यक्रम संयोजक तथा सञ्जालकी सचिव विन्दु न्यौपानेले बताए । कार्यक्रममा बोल्ने वक्ताहरुलाई चाडपर्वलाई भड्किलो नबनाउन आग्रह गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले मुलुकलाई अगाडि बढाउने सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिइन् । उनले यस वर्ष विपद्का कारण धेरै जनाको ज्यान गएको बताइन् ।
त्यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हालै मनसुनजन्य विपद्बाट नेपालमा २२८ जना बढीले ज्यान गुमाएको बताए । उनले भने, चाडपर्व तडकभडकाका साथ नमनाऔं । हामी सबैको आ–आफ्नो ठाउँमा भूमिका छ । सबैले भूमिका निर्वाह गरौं । भगवान गौतमबुद्धको जन्मभूमिको विशेष अर्थ रहेको उनले बताए ।
सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले अरुको देखासिकी गरेर ऋण लिइ चाडपर्व नमनाउन आग्रह गरे । उनले भने, ‘चाडपर्व तडकभडकका साथ नमनाऔं । जेछ त्यसैमा सन्तुष्ट भएर चाडपर्व मनाऔं ।’
कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक विज्ञानराज सुवेदी, सिद्धार्थनगर नगरपालिका–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष खिम बहादुर खत्री, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका महासचिव कृष्ण प्रसाद घिमिरे, चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) का वाणिज्य उपाध्यक्ष राम मिलन यादव, लुम्बिनी निर्माण व्यवसायी संघकी अध्यक्ष मन्जु भुसाल, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष राम प्रसाद पोखरेल, मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष बाबुराम पाण्डे, गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगर शाखाका अध्यक्ष केशवराज ज्ञवाली, लिडरसीप स्किल्स डेभलपमेन्ट टे«निङ (एसएसडीटी) का प्रमुख प्रशिक्षक विजय पाण्डे, मायादेवी च्यारिटेबल फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियार, चन्द्रभक्त श्रेष्ठ लगायतले बोलेका थिए ।
सिद्धार्थ सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रभक्त श्रेष्ठको धन्यवाद ज्ञापन तथा महासचिव मधु प्रसाद पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय रुपन्देही देशभरमै प्रथम भएको भन्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई सम्मान गरिएको थियो । त्यस्तै भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मी र आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेललाई स्वागत गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij