२०८३, आश्विन ३ गते

Sep 19 2026 | २०८३, आश्विन ३ गते

अर्घाखाँची शितगंगा–भैरहवा सम्पर्क समाजद्वारा शुभकामना आदानप्रदान

आइतवार , आश्विन २०, २०८१

  • 991
    Shares
  • 991
    Shares
  • भैरहवा, २० असोज ।
    अर्घाखाँची शितगंगा–भैरहवा सम्पर्क समाज सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । वडादशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा समाजले कार्यक्रम आयोजना गरेको हो ।

    संस्थाका अध्यक्ष झबिन्द्र प्रसाद बेल्बासेको अध्यक्षता तथा आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले यस क्षेत्रमा रहेका सम्पूर्ण संघ–संस्था तथा व्यक्तिहरुको सहयोगले यस क्षेत्रको विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले आफू आन्तरिक राजश्व कार्यालयमा मात्र नभइ जुनसुकै निकायमा कार्यरत रहदा समेत सबैसँग हातेमालो गरेर अगाडि बढने प्रतिवद्धता व्यक्त गरे ।

    संस्थाका अध्यक्ष झबिन्द्र प्रसाद बेल्बासेले शितगंगा नगरपालिकाको जुनसुकै स्थानबाट भैरहवा क्षेत्रमा आइ विभिन्न पेशा, व्यवसाय गर्ने तथा स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने व्यक्तिहरुलाई समेटेर एकआपसमा भाइचाराको सम्बन्धलाई स्थापित गर्ने हेतुले संस्थाको स्थापना गरिएकोले संस्थालाइ सफल बनाउन सबैको सहयोगको अपेक्षा गरे ।

    संस्थाका कार्यसमिति सदस्य अन्जु पौडेलको स्वागत तथा सञ्चारकर्मी माधब न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार तथा विशिष्ट अतिथि दामोदर शर्मा घिमिरे, होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका महासचिव गणेश बेल्बासे, अर्घाखाँची सिद्धार्थनगर सम्पर्क समाजका अध्यक्ष कृष्ण प्रसाद भट्टराई, अर्घाखाँची जुकेना रुपन्देही सम्पर्क समाजका निवर्तमान अध्यक्ष नुमेन्द्र पौडेल, संस्थाका सल्लाहकार तथा अन्तर्राष्ट्रिय रेडक्रसका कोर्डिनेटर शोभा पौडेल, सल्लाहकार थानेश्वर पौडेल लगायतले मन्तव्य राख्दै संस्थाको सफलताको शुभकामना व्यक्त गरे । 

    कार्यक्रममा हालै सरुवा भएर आन्तरिक राजस्व कार्यालय भैरहवाको कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेललाई स्वागत तथा समाजका आजीवन सदस्यहरुलाई सम्मान गरिएको कार्यक्रम संयोजक तथा संस्थाका सह–सचिव नरेन्द्र प्रसाद न्यौपानेले जानकारी दिए ।

    कार्यक्रममा संस्थाको परिचय तथा संस्था स्थापना गर्नुको उद्देश्यबारे सचिव चन्द्र सारु मगरले प्रकाश पारेका थिए ।