
आइतवार , आश्विन २०, २०८१
भैरहवा, २० असोज । नेपाल रेडक्रस सोसाईटी रुपन्देहीले ब्लड बैंक सफ्टवेयर तथा मोबाईल एप सञ्चालनमा ल्याएको छ । सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै रक्त सञ्चार सेवालाई पनि अत्याधुनिक, व्यवस्थित, मितव्ययी, जवाफदेही, पारदर्शी तथा डिजिटल रुपमा सञ्चालन गर्न सफ्टवयेर र माबाईल एप सञ्चालनमा ल्याइएको रेडक्रस रुपन्देहीले जनाएको छ।
रक्त सञ्चार सफ्टवयर अन्तरगत सम्पूर्ण डाटावेश, रक्तदान गरेका व्यक्तिलाई धन्यवाद, जन्मदिनमा शुभकामनासहित एसएमएस नोटिफिकेसन, स्वचालित बिलिङ सिस्टम र बिल प्रिन्ट गर्न मिल्ने, व्यक्तिगत युजर तथा पासवर्ड, ल्याब रिर्पोट, डोनर कार्ड, सर्टिफिकेट तथा नगद भौचर ईमेलमार्फत पठाउन मिल्ने रेडक्रस सोसाईटी रुपन्देहीका कोषाध्यक्ष शुशील गुरुङले जानकारी दिए ।
त्यसै गरी रगत एक्सपाईरी अर्लाम सिस्टम, अनलाईन एक्सेस, निरीक्षण तथा नियन्त्रण हुने तथा रक्तदाताको नाम, सम्पर्क नम्बर पनि उपलब्ध हुने गुरुङले बताए ।
रुपन्देहीमा सञ्चालनमा ल्याइएको सफ्टवेयर तथा मोबाईल एप नेपालमै पहिलो भएको रेडक्रस रुपन्देहीका सभापति दीपक क्षेत्री न्यौपानेले जानकारी दिए । उनले मोबाईल एपलाई थप व्यवस्थित र परिमार्जन गर्दै लैजाने उल्लेख गरे ।
रेडक्रस सोसाईटी लुम्बिनी प्रदेश अध्यक्ष लालप्रसाद पंगेनी (कृष्ण) ले सफ्टवयेर र मोबाईल एपले रक्त सञ्चार र रक्तदान अभियानलाई थप प्रभावकारी बनाउन सहयोग गरेको बताए । उनले रक्त सञ्चार सेवा केन्द्र र बुटवल र भैरहवामार्फत ४५० बढी सहकारी तथा गैरसरकारी संघ–संस्थाहरुको सहयोग तथा २८ वटा पालिकाहरुसँग निःशुल्क रगत प्रदान गर्ने सम्झौता गरेको उल्लेख गरे । उनले पैसाको अभावमा रगतबाट वञ्चित हुन नपर्ने उल्लेख गर्दै रक्तदान सम्बन्धी अभियानमा सबैलाई जोडिन आग्रह समेत गरे ।
नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका उपमन्त्री अर्जुनराज उपाध्यायको सञ्चालनमा भएको कार्यक्रममा लुम्बिनी प्रेस क्लब, रुपन्देहीका कार्यबाहक अध्यक्ष कमल रायमाझी, रेडक्रस रुपन्देहीका उपसभापति रुपमा हिराचन लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij