२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोहिणीमा ४५० थान लालपूर्जा वितरण

आइतवार , आश्विन २०, २०८१

भैरहवा, २० असोज । रुपन्देहीको रोहिणी गाउँपालिकामा ४५० थान जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरिएको छ । रोहिणी गाउँपालिका ३ नम्बर वडा अन्तर्गत रहेका गाउँब्लक जग्गाको जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । 

आइतबार रोहिणी गाउँपालिका र नापी कार्यालय रुपन्देहीद्वारा रोहिणी–३ धकधईस्थित श्रीराम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा आयोजित समारोहमा लालपूर्जा वितरण गरिएको हो । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले १६ जनालाई लालपूर्जा वितरण गरेका थिए । बाँकी समारोहको लालपूर्जा आयोजकले वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै मन्त्री अधिकारीले वर्षौदेखि लालपूर्जा नपाएका जनतालाई लालपूर्जा दिन योजनाबद्ध तरिकाले लागिपरेको बताए । उनले लालपूर्जाबिहीन जनताले लालपूर्जा पाए भन्ने सन्देश दिन अभियानको रुपमा अघि बढेको बताए । मन्त्री अधिकारीले उखडा र बहालबिटौरी जग्गामा बसेका नागरिक पनि लालपूर्जाबाट वञ्चित भएको बताए । उनले भने, ‘जग्गाधनी प्रमाणपूर्जा दिन कानून परिवर्तन पनि गर्नुपर्ने अवस्था छ । कतिपय कानून बनाउन बाँकी छन् । कतिपय नागरिक वर्षौदेखि पर्ती जग्गामा बस्नुभएको छ । तर, उहाँहरुको आफ्नै नाममा जग्गा छैन । हामी त्यसको पनि व्यवस्थापन गर्ने गरी लागेका छौं ।’

मन्त्री अधिकारीले रुपन्देहीसहित तराईका धेरै जिल्लामा भूमिहीन, सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासी रहेका र उहाँहरुलाई छिटोछरितो रुपमा जग्गा दिनका निम्ति लागिपरेकोे बताए । उनले भने, ‘जनताले एकातर्फ लालपूर्जा नपाएको र अर्कोतर्फ सरकारको राजस्व गुमेको छ । यी सबै कुराहरुलाई मिलाउनको निम्ति योजनाबद्ध तरिकाले लागेका छौं, दशैैपछि आयोग गठन गर्छौं । ’

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले लालपूर्जा नागरिकले पाउने अधिकार भएको बताए । 

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले आफू निर्वाचित भएपछि जनतालाई वाचा गरे अनुसार काम गर्दै आएको बताए । उनले विगतदेखि गर्दै आएको प्रयास आज सफल भएको बताए । उनले भने, ‘गाउँब्लकमा जग्गा रहेका नागरिकहरुको लालपूर्जा नहुनु जटिल समस्याको रुपमा नै छ । यो समस्या समाधान हुँदैछ ।’

नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत सुग्रीव यादवले ८४१ वटा गाउँब्लक र ६७५ हेक्टर जग्गाको पूर्जा वितरण गरिसकिएको जानकारी दिए ।

रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले जनताको आवाज लिएर अगाडि बढेको बताए । उनले वर्षौदेखि बसोबास गर्दै आएका नागरिकले आफ्नो सम्पत्तिको हक पाएको बताए ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीको अध्यक्षता तथा निर्देशक दामोदर ढकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

लालपूर्जा पाएपछि रोहिणी–३ लक्ष्मीनगरका हृदयराम यादवले खुसी व्यक्त गरे । उनले भने, ‘लालपूर्जा नपाउँदा धेरै समस्या थियो, पाएपछि धेरै खुसी लागेको छ । लालपूर्जा दिलाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।’