
आइतवार , आश्विन २०, २०८१
जोमसोम (मुस्ताङ), २० असोज । मुस्ताङमा औपचारिक बौद्ध उच्च शिक्षाको माग गरिएको छ । गुम्बाहरुमा अनौपचारिक रुपमा बौद्ध शिक्षा सञ्चालनमा रहे पनि त्यसलाई मूलधारमा ल्याउनका लागि बौद्ध क्याम्पसको माग गरिएको हो । मुस्ताङका सरोकारवालाहरुले बौद्ध कलेज सञ्चालनका लागि मुस्ताङ तयार रहेको भन्दै लुम्बिनी बौद्ध विश्वविद्यालयले औपचारिक बौद्ध शिक्षाको सुरुवात गर्नुपर्ने माग गरे ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले मुस्ताङको जोमसोममा आइतबार आयोजना गरेको मुस्ताङको बौद्ध सम्पदा र संस्कृतिको पर्यटन प्रवद्र्धन विषयक अन्र्तक्रियामा मुस्ताङका अगुवाहरुले बौद्ध सम्पदाहरुको अनुसन्धान, संरक्षण, उत्तखनन् तथा बौद्ध शिक्षामा विश्वविद्यालयले अग्रसरता लिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले मुस्ताङ बौद्ध सम्पदाको अदभूत खानी रहेको भन्दै यसको उजागर गर्न आवश्यक रहेको बताए । बौद्ध सम्पदा र संस्कृतिको प्रवद्र्धनले दीगो पर्यटन विकास हुने भन्दै उनले मुस्ताङको सामरिक महत्वलाई ध्यानमा राख्दै काम गर्नुपर्ने बताए ।
पूर्व मुख्यमन्त्री अधिकारीले बौद्ध विश्वविद्यालयले मुस्ताङका बौद्ध गुम्बा तथा विद्यालय तहमा बौद्ध शिक्षा लिएका विद्यार्थीहरुका लागि बौद्ध क्याम्पस सञ्चालनको ठोस निर्णय लिनुपर्ने बताए । बौद्ध दर्शनको अनुसन्धानले मात्रै मुस्ताङलाई पर्यटकीय खानीका रुपमा विकास गर्न सकिने उनको भनाइ थियो । मुस्ताङको बौद्ध शिक्षाको विकासमा पक्ष विपक्ष हुन जरुरी नभएको भन्दै उच्च शिक्षा सञ्चालनमा आफूले सहजिकरणको काम गर्ने उनले प्रतिवद्धता जनाए ।
कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले मुस्ताङका गुम्बाहरुमा रहेका बौद्ध ग्रन्थहरुको अध्ययन अनुसन्धान हुन नसकेको भन्दै विश्वविद्यालयले अनुसन्धानलाई अघि बढाउने योजना बनाइरहेको बताए । गुम्बा विहारहरुमा रहेका बौद्ध ग्रन्थलाई नेपालीसहितका भाषामा रुपान्तरण गरी यहाँको बौद्ध संस्कृति, कला तथा पुरातत्वलाई उजागर गर्न विश्वविद्यालयले प्रयास गरिरहेकाले स्थानीय, प्रदेश तथा संघीय सरकारले पनि विशेष योजना बनाएर सहयोग गर्नुपर्ने बताए ।
बौद्ध विश्वविद्यालयले मुस्ताङमा अनुसन्धान केन्द्रका साथै उच्च शिक्षा सञ्चालन गर्न सक्ने भन्दै त्यसका लागि स्थानीय, प्रदेश सरकारले पहलकदमी गर्नुपर्ने उनले बताए । उच्च शिक्षा सञ्चालनका न्यूनतम पूर्वाधार तयार रहेको अवस्थामा विश्वविद्यालयले क्याम्पस सञ्चालन गर्न सक्ने उनले प्रतिवद्धता जनाए । मुस्ताङका गुम्बाहरुमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई बुद्ध जन्मस्थल लुम्बिनीमा स्नातक तहमा औपचारिक शिक्षामा जोड्न सकिने भन्दै त्यसका लागि सहजीकरण गर्न सरोकारवालालाई आग्रह गरे ।
बौद्ध दर्शन, कला, संस्कृतिको अध्ययन अनुसन्धान गर्नु विश्वविद्यालयको मुख्य लक्ष्य रहेको भन्दै उनले ओलांचुगोलादेखि टिंकरसम्मको हिमाली बौद्ध सम्प्रदायको अध्ययन अनुसन्धान गर्न विश्वविद्यालयले काम गर्ने उनले बताए । विश्वविद्यालयको अनुसन्धान कार्यमा सरोकारवाला सबैको सहयोग हुनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रिय सभाका पूर्व सदस्य श्रीमाया थकालीले मुस्ताङी जनताकै संरक्षणमा बौद्ध संस्कृति र सम्पदा जीवित रहेको भन्दै यसको प्रवद्र्धन, अनुसन्धानमा विश्वविद्यालय तथा सरकारी निकायबाट विशेष योजना ल्याउनुपर्ने बताइन् ।
त्यस्तै संविधान सभाका सदस्य चन्द्र बहादुर गुरुङले मुस्ताङमा शताब्दीऔं पुरानो संस्कृति र सम्पदा रहेको भन्दै यसको उचित अनुसन्धान हुन नसकिरहेको बताए । उनले विश्वविद्यालयले बौद्ध शिक्षाका साथै अनुसन्धानमा काम गर्ने योजना ल्याउनुपर्ने बताए ।
बाह्रगाउँ गाउँपालिकाका अध्यक्ष रिन्जिङ नाम्ग्याल गुरुङले मुस्ताङमा बौद्ध क्याम्पस स्थापना गर्ने प्रयास भए पनि सफल नभएकोमा चिन्ता व्यक्त गरे । उनले साक्यपा बौद्ध कलेज स्थापना गरी स्नातक तहको पठनपाठन मुस्ताङमा गर्न आवश्यक रहेको भन्दै विश्वविद्यालयसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए । मुस्ताङी जनताहरु छिमेकी देशहरुको सम्बन्धलाई सुमधुर बनाउँदै अघि बढ्ने विषयमा सचेत रहेको भन्दै उनले मुस्ताङको पर्यटन प्रवद्र्धनमा बौद्ध सम्पदालाई उजागर गर्दै लैजानुपर्नेमा जोड दिए ।
स्थानीय समाजसेवी जयन्द थकालीले बौद्ध गुम्बाको प्रचार हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । त्यस्तै चन्द्रबहादुर थकालीले विश्वविद्यालयले अनुसन्धानकर्ता खटाएर गुम्बाहरुको विषयमा अनुसन्धान तथा पर्यटकीय ज्ञान प्रदान गर्नुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेशका नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. श्रीकान्त खतिवडाले सम्पदाको विकासले पयर्टन र पर्यटनले जीविकाको विकासमा जोड दिने बताए ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुसालले मुस्ताङको बौद्ध सम्पदा र संस्कृतिको विकासले पर्यटनमा महत्वपूर्ण टेवा पुग्ने बताए ।
कार्यक्रममा मुस्ताङ उद्योग वाणिज्य संघका सचिव योगेश शेरचन, तिलक वि.क., पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दर कुमार थकाली, सुन्देली रसाइली लगायतले बोल्दै मुस्ताङको संस्कृति र सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै पर्यटकीय गन्तव्यका रुपमा विश्वभरी पहिचान गराउनुपर्नेमा जोड दिए ।
कार्यक्रम जोमसोमस्थित जिल्ला प्रशासन कार्यालयको सभाहलमा सम्पन्न भएको थियो । कार्यक्रममा मुस्ताङका स्थानीय सरोकारवाला, पर्यटनविद्, बौद्ध विश्वविद्यालयका प्राध्यापकहरुको सहभागीता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij