
सोमवार , आश्विन २१, २०८१
भैरहवा, २१ असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित कठौतियामा भैरहवा एग्रिकल्चरल सुपर मार्केट एण्ड मल्टि टे«डिङ कन्सर्न प्रा.लि.मार्फत भैरहवा कृषि बजार सञ्चालनमा ल्याइएको छ । २०८१ साउन १२ गते सुरु भएको बजारको औपचारिक उद्घाटन गरिएको सञ्चालक रतन गुप्ताले बताए ।
बजारको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका (मेयर) इश्तियाक अहमद खाँले कठौतियामा कृषि बजार सञ्चालनमा ल्याउनु राम्रो कार्य भएको बताए । उनले विषादीमुक्त तथा अर्गानिक तरकारीको विक्रीवितरणमा जोड दिन आग्रह गरे । नगरप्रमुख खाँले नाफाका लागि कसैको पनि स्वास्थ्यसँग खेलवाड गर्न नहुने बताए । उनले नगरपालिकाले सक्दो सहयोग गर्ने बताए ।
त्यस्तै सिद्धार्थनगर नगरपालिका–९ का वडाअध्यक्ष शेषकान्त भण्डारीले भैरहवा कृषि बजारलाई नमूना बजारको रुपमा अघि बढाउन आग्रह गरे ।
भैरहवा कृषि बजार सञ्चालक समितिका अध्यक्ष चन्द्रो कहारले विषादीमुक्त तरकारी विक्रीवितरण गर्ने प्रयासमै रहेको बताए । उनले किसानबाट आफूहरुले सिधै तरकारी खरिद गर्ने बताए । हप्ताको दुई दिन बुधबार र शनिबार हाटबजार सञ्चालनको तयारी पनि गरिएको कहारले जानकारी दिए । ५ कठ्ठा जग्गामा डेढ करोडको लगानीमा सञ्चालित बजारमा हाल २६ वटा स्टल रहेको उनले बताए ।
सिद्धार्थनगर–९ का वडा सदस्य बसन्त भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
चन्द्रो कहारसहित स्थानीय दीपक श्रेष्ठ, रतन गुप्ता, मोहम्मद अनिस पठान, अब्दुल रसिल पठान र रंगीलाल चाईको लगानीमा भैरहवा कृषि बजार सञ्चालनमा आएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij