२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कोभिड–१९ ले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय समस्यामा 

शनिवार , श्रावण २४, २०७७

बुटवल, २४ साउन ।
कोरोना संक्रमणको सन्त्रास र लकडाउनका कारण यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय समस्यामा परेका छन् । मनोरञ्जनात्मक काम गरेर जीविकोपार्जन गर्दै आएका उनीहरु उक्त क्षेत्र ठप्प हुँदा समस्यामा परेका हुन् । 

निल हिरा समाज र वमन्स फण्ड एसियाले शनिबार बुटवलमा आयोजना गरेको कोभीडको प्रभावबारे सरोकारवालाबीच छलफल कार्यक्रममा सहभागिहरुले रोजीरोटी गुमाए पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई सरकारी सहयोग तथा राहत नमिलेको बताए । 

कार्यक्रममा बोल्दै अधिकारकर्मी आनीक रानाले राज्यबाट अपहेलित समुदाय कोरोना संक्रमणका कारण अझ धेरै समस्यामा परेको बताउनुभयो । स्थानीय तहले नाम नै टिपेर दिदा पनि अधिकांश ठाउमा राहत नदिएको उहाँको गुनासो थियो । गरिआएको मनोरञ्जन क्षेत्र बन्द हुँदा अधिकांश यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय कामवीहिन भएको उहाँले बताउनुभयो ।  ‘हाम्रो समाजमा यौनीक तथा लैंगिक अल्पसंख्यक समुदाय छन् । तीनलाई पनि समस्या छ । समस्यामा सहयोग गर्नुपर्छ भन्ने तीन तहकै सरकारले सोचेन,’ उहाँले भन्नुभयो, ‘यसले हाम्रो समुदाय हातमुख कसरी जोर्ने भन्ने समस्यामा परेको छ ।’

कार्यक्रममा बोल्दै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका रेशम न्यौपानेले महामारीमा फरक पहिचान हुनेका फरक समस्या हुने भए पनि राज्य तहबाट त्यसलाई सम्बोधन नभएको बताउनुभयो ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकै पुष्पा लामाले पहिचान अनुसारको नागरिकता नहुँदा सरकारी सेवा सुविधाबाट वञ्चित हुनु परेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य कमला विश्वकर्माले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा सबैभन्दा ठूलो समस्या नागरिकता र पहिचान भएको बताउनुभयो । संघीय सरकारले ल्याएको नागरिकता विधयेकबाट सो समस्या समाधान गर्न सरोकारवाला एकजुट हुन उहाँले आग्रह गर्नुभयो । कोरोना संक्रमणको मारमा सबै समुदाय परेको बताउदै उहाँले स्थानीय तह र प्रदेश सरकारमार्फत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदामा परेको समस्या समाधानका लागि पहल गर्ने उहाले बताउनुभयो ।