
बिहिवार , आश्विन २४, २०८१
भैरहवा, २४ असोज । रुपन्देहीको भैरहवामा ‘लायन्स होलि सिटि दीपक–लता किरियापुत्री भवन’ निर्माण हुने भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ स्थित भृकुटीपथ (स्वर्गद्वारी घाट जाने बाटोको पश्चिम) निर्माण हुने भवनको बुधबार एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ । भवनको लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले शिलान्यास गरेका हुन् ।
भवन निर्माणका लागि जग्गादाता तथा समाजसेवी दीपक प्रधान र लता प्रधानले १८ धुर जग्गा दान गर्नुभएको भवन निर्माण समितिका संयोजक तथा लायन्स क्लब अफ सिद्धार्थनगर होलि सिटिका पूर्वअध्यक्ष मंगल भण्डारीले बताए । विगत १३ वर्षदेखिको प्रयास सफल भएको भण्डारीले बताए । ‘भवन निर्माण गर्न करिब ८५ लाख रुपैयाँ लाग्नेछ, यसका लागि सबैको साथ र सहयोगको आवश्यकता छ, उनले भने, भवनमा ४ वटा सुविधासम्पन्न कोठा, एटेज बाथरुम, एसी, बरण्डा, हल, कार्यालय, पूजापाठ र प्रसाद ग्रहण गर्ने ठाउँ रहनेछ । ’
सो अवसरमा बोल्दै प्रमुख अतिथि डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्ग लायन्स क्लब अफ लायन्स क्लब अफ सिद्धार्थनगर होलि सिटिले उदाहरणीय कार्यको शुभारम्भ गरेको बताए । उनले पवित्र कार्यका लागि जग्गादान गर्ने जग्गादाताहरुलाई जति धन्यवाद दिए पनि कमै हुने बताए ।
त्यस्तै नगरप्रमुख इश्तियाक अहमद खाँले दीपक प्रधान र लता प्रधानले महान कार्य गर्नुभएको बताए । उनले भने, ‘यो महान कार्यमा हामी सबै सरिक हुनुपर्छ । ’ सिद्धार्थनगर नगरपालिकाबाट पनि सक्दो सहयोग गर्ने उनले बताए ।
समाजसेवी लता प्रधानले जग्गादान गर्ने सल्लाह भएबमोजिम गरिएको बताइन् । उनले भनिन्, ‘जग्गा कसैले मागेर होइन, हामी आफैलाई जग्गा दिन मन लागेको हो ।’ लायन्सको सेवाको भावना मन पर्यो । उनले भवन निर्माण कार्य छिटो सम्पन्न हुने विश्वास व्यक्त गरिन् ।
लायन्स क्लब अफ सिद्धार्थनगर होलि सिटिका संस्थापक अध्यक्ष ओम कुमार श्रेष्ठले १३ वर्षदेखिको सपना साकार हुन लागेको बताए । उनले यो क्लबको ठूलो प्रोजेक्ट भएको बताए । उनले भवन निर्माण कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समितिका सभापति राजेश कुमार अग्रवाल, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठ, समाजसेवी नारायण प्रसाद अग्रवाल, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी क्षेत्रीय प्रमुख शान्ति सुवेदी लगायतले भनाइ राखेका थिए ।
लायन्स क्लब अफ सिद्धार्थनगर होलि सिटिका अध्यक्ष सन्तोष रायमाझीको अध्यक्षता, क्लबका निवर्तमान अध्यक्ष सुमन शर्माको स्वागत, प्रथम उपाध्यक्ष ऋषिराम पाण्डेयको ध्वजा अभिवादन तथा सचिव रवि थपलियाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न समाजसेवीहरुले भवन निर्माणका लागि चेक हस्तान्तरण गरेका थिए भने सहयोग गर्ने घोषणा समेत गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij