२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेपाल प्रजापति कुम्भकार संघ रुपन्देहीद्वारा शुभकामना आदानप्रदान

बिहिवार , आश्विन २४, २०८१

भैरहवा, २४ असोज । नेपाल प्रजापति (कुम्भकार) संघ जिल्ला कार्यसमिति, रुपन्देहीले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विजया दशमी, दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा बिहीबार भैरहवामा कार्यक्रम गरिएको संघको रुपन्देही जिल्ला अध्यक्ष रामनारायण कोहारले बताए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेयले प्लाष्टिकका भाडा प्रतिबन्ध गरेर माटोको भाडाको प्रयोगमा जोड दिनुपर्ने बताए । उनले भने, ‘अब सदन चलेपछि यहाँहरुले मेरो मन्तव्यमा सुन्न सक्नुहुनेछ कि प्लाष्टिकको भाडा प्रयोगमा प्रतिबन्ध गरेर माटोको भाडाको प्रयोगमा ल्याऔं भनेर प्रदेश सरकारले निर्णय गर्नुपर्ने माग राख्नेछु ।’ सिद्धार्थनगर नगरपालिकाले गुट्खा प्रतिबन्ध गरे जस्तै प्लाष्टिकका भाडा पनि प्रतिबन्ध गर्नुपर्ने उनले बताए ।

पूर्व गृहमन्त्री समेत रहेका पाण्डेयले प्लाष्टिक बनाउन सकिने तर अन्त्य गर्न नसकिने भएकाले प्लाष्टिकको प्रयोगका कारण प्रदुषण फैलिदै गएको र यसले स्वास्थ्यमा असर गरिरहेको बताए । माटोको भाडाको प्रयोगको माग बढ्दो छ, उनले भने, ‘हामी चिया पसलहरुमा पनि माटोको भाडामा चिया पिउन खोज्छौं ।’

उनले सुधारको सुरुवात आफैबाट गर्नुपर्ने र परिवर्तनका लागि काम गर्न इच्छाशक्तिको आवश्यक रहेकोमा जोड दिए । नेता पाण्डेयले नेपाल प्रजापति कुम्भकार संघले वातावरण संरक्षणका लागि निर्वाह गरेको भूमिका सराहनीय रहेको बताए ।

त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले प्रजापति संघले धेरै कुरा सिकाएको बताए । उनले भने, ‘यहाँहरुसँग कला छ । आफ्नो पेशा र इतिहास बिर्सनुहुँदैन । माटोको भाडाको ठूलो महत्व छ । यसतर्फ ध्यान दिन आग्रह गर्दछु ।‘

कार्यक्रममा सिद्धार्थनगर नगरपालिका–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तव, ७ का अध्यक्ष दामोदर शर्मा घिमिरे, १० का अध्यक्ष सुर्जमन यादव, विश्व हिन्दु परिषद नेपाल रुपन्देहीका अध्यक्ष गोपाल उपाध्याय, नेपाल प्रजापति कुम्भकार संघका केन्द्रीय सदस्य गुरुचरन प्रजापति, केन्द्रीय सल्लाहकार तथा नेपाल प्रहरीका पूर्व प्रहरी नायव उपरीक्षक (डीएसपी) रामशंकर कोहार, जिल्ला सल्लाहकार हरिशचन्द्र कोहार, राजेन्द्र पण्डित, शत्रुधन पण्डित, महिला सदस्य राजमति कोहार, काली कोहार लगायतले बोलेका थिए ।

नेपाल प्रजापति कुम्भकार संघ रुपन्देहीका अध्यक्ष रामनारायण कोहारको अध्यक्षता, प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेयको प्रमुख आतिथ्यता, संघका जिल्ला उपाध्यक्ष वाल सुग्रीव कोहारको स्वागत तथा जिल्ला सचिव विरेन्द्र कुमार कोहारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । नेपाल प्रजापति कुम्भकार संघ रुपन्देहीले गत भदौमा रक्तदान कार्यक्रम गरेको संघको जिल्ला प्रवक्ता दिलिप प्रजापतिले बताए ।