
शुक्रवार , आश्विन २५, २०८१
भैरहवा, २५ असोज । श्री राम जानकी आध्यात्मिक मन्दिर समिति गैडहवा गाउँपालिका वडा नम्बर ५, विष्णुपुरा (गिदहिया) ले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । नवरात्री तथा बडादशैंको अवसरमा बिहीबार मन्दिर परिसरमा कार्यक्रम गरिएको समितिका अध्यक्ष चन्द्रभुवन नाउले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले मन्दिर पसिरमा पार्क बनाउन, यहाँ रहेको पोखरीको सौन्दर्यीकरण तथा धर्मशाला बनाउन प्रदेश सरकारबाट बजेट उपलब्ध गराइने बताए । उनले श्री राम जानकी मन्दिरको विकासका लागि सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
त्यस्तै विशिष्ट अतिथि गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्यालले मन्दिरमा गाउँपालिकाबाट बजेट विनियोजन गरिदै आएको र आगामी दिनमा पनि गर्ने बताए ।
कार्यक्रममा गैडहवा गाउँपालिका उपाध्यक्ष माधुरी जयसवाल, गैडहवा–५ का निवर्तमान वडाअध्यक्ष कृष्णशंकर प्रसाद गुप्ता, मन्दिर समितिका कोषाध्यक्ष जय प्रकाश उपाध्याय, आजीवन सदस्य तथा पूर्व कार्यसमिति सदस्य राजकुमार गुप्ता लगायतले बोलेका थिए ।
मन्दिर समितिका सदस्य राम दयाल गुप्ताको स्वागत तथा सचिव सन्तु प्रसाद धवलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको युवा समाजसेवी किरन गुप्ताले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij