
शुक्रवार , आश्विन २५, २०८१
भैरहवा, २५ असोज । बडादशैैं नेपालीहरुको महान पर्व हो । यो पर्वमा कतिपयले भ्रमण गरेर मनाउने सोच बनाएका हुन्छन् । यदी तपाई पनि दशैंको छेको पारेर भ्रमण गर्ने सोचमा हुनुहुन्छ भने एउटा उपयुक्त थलो बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धसँग जोडिएका स्थलहरु पनि गतिलो हुन सक्छ । शान्ति, करुणा र सत्मार्गको प्रतिकका रुपमा बुद्धलाई विश्वले अंगिकार गरिरहेको छ । त्यसैले शान्तिप्रिय र ध्यान गर्न इच्छुकहरुले दशैं तिहार, छठ लगायतका पर्वहरुमा बुद्ध शिक्षा ग्रहण गरी लुम्बिनी भ्रमणमा बिताउन सकिन्छ । यतिखेरको मौसम न त जाडो न त गर्मीको छ ।
लुम्बिनी भ्रमणका लागि यो मौसम उपयुक्त रहेको लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई बताउँछन् । उनले नेपालीहरुको महान पर्व दशैं, तिहार लगायतका पर्वमा विद्यालय तथा कार्यालय विदा हुने भएकाले लुम्बिनी भ्रमण गरेर भ्रमणको सदुपयोग गर्न सकिने बताए । यसले आन्तरिक पर्यटन प्रवद्र्धन हुने उनले बताए । उनले भने, यो पावनभूमि संसारभरिका बौद्धमार्गी तथा शान्तिप्रेमी सबै मानिसबीच विश्व शान्तिको मुहानका रूपमा प्रसिद्ध छ । ‘दशैं, तिहारजस्ता पर्वको बिदा सदुपयोग गर्नेहरूका लागि यो मौसम असाध्यै उपयुक्त छ ।’
उनका अनुसार बुद्धजन्मस्थल लुम्बिनी आएर बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर, बुद्धको जन्मस्मारक, पुष्करणी पोखरी, अशोक स्तम्भ, शान्तिदीप, केन्द्रीय नहरमा डुंगामा सयर गर्न सकिन्छ । यसका अतिरिक्त केन्द्रीय नहरको दायाँ र बायाँतर्फ रहेका विभिन्न देशका विहारहरूको भ्रमणले बिदा निकै उपलब्धिमूलक हुने डा. राईको विश्वास छ ।
ई.पू. ६२३ मा यहाँको सुन्दर र पवित्र बगैंचामा माता मायादेवीका कोखबाट बुद्ध धर्मका प्रणेता, शान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्म भएको थियो । यो पावन भूमि संसारभरीका बौद्धमार्गी तथा शान्तिप्रेमी सबै मानिसहरू बीच विश्व शान्तिको मुहानका रुपमा प्रसिद्ध छ ।
बुद्धप्रति आस्था राख्नेहरुका लागि बुद्ध जन्मस्थल यसैपनि पवित्र स्थल हो । त्यसमाथि बुद्धको शिक्षा जीवन उपयोगी छ । ई.पू. ६२३ मा यहाँको सुन्दर र पवित्र बगैंचामा माता मायादेवीका कोखबाट बुद्ध धर्मका प्रणेता, शान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्म भएको थियो । यो पावनभूमि संसारभरीका बौद्धमार्गी तथा शान्तिप्रेमी सबै मानिसहरू बीच विश्व शान्तिको मुहानका रुपमा प्रसिद्ध छ । यहाँँ पुग्ने पर्यटकहरु खुलेर रमाउँछन । बेल्जियमबाट लुम्बिनी आएका पर्यटकले नेपाल धेरै राम्रो देश भएको बताए । उनले लुम्बिनी घुम्न पाउँदा धेरै खुसी लागेको बताए ।
लुम्बिनी विश्वभरका लाखौं मानिसहरूको धार्मिक, आध्यात्मिक तथा पर्यटकीय गन्तव्य रुपमा स्थापित भइसकेको र सुन्दर, शान्त वाटिकाका रुपमा विकसित हुँदै गइरहेको छ । लुम्बिनीसँगै सिद्धार्थ गौतमले आफ्नो जीवनकालको २९ वर्ष बिताएको स्थान तिलौराकोट, देवदह र रामग्राम समेत घुम्न सकिन्छ । पर्यटकहरुलाई राम्रोसँग गाईड गर्न सक्ने हो भने पर्यटकको बसाई अवधि समेत बढ्ने होटल व्यवसायीहरु बताउँछन । लुम्बिनी होटल संघ, नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले लुम्बिनी आइसकेका पर्यटकले सही विवरण÷जानकारी दिन सके पर्यटकको बसाई लम्ब्याउन सकिने बताए । उनले भने, ‘लुम्बिनीमा आएपछि यो यो ठाउँ हेर्नुपर्छ भन्ने कुरा बताउन सक्यौं भने पर्यटकको बसाई लम्ब्याउन सकिन्छ र यो सन्देश पनि टाढा टाढासम्म पुग्छ ।’
लुम्बिनी शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल भएकोले अद्वितीय आध्यात्मिक तीर्थस्थल त हँदै हो तथापि यसको महत्व त्यति मै सीमित हुँदैन । यसको जैविक विविधता र मनोरम प्राकृतिक दृश्यले प्रकृतिविद्, वनस्पतिविद्, जीवशास्त्रीहरूलाई पनि मोहनी लगाउँछ ।
लुम्बिनीमा करिब २५० प्रजातिका चराहरू छन्, जसमध्ये सारस लगायतका कतिपय दुर्लभ प्रजाति पनि पर्दछन् । लुम्बिनीमा अजिंगर, नीलगाई जस्ता दुर्लभ जन्तुहरू पनि पाइन्छन् । लुम्बिनी सन् १९९७ देखि विश्व सम्पदा सूचीमा समेत सूचीकृत गरिएको छ । हरेक वर्ष संसारभरबाट लाखौंको संख्यामा तीर्थालु, पर्यटक तथा अध्येताहरू लुम्बिनीको भ्रमण गर्छन् । गत वर्ष सन् २०२३ मा आन्तरिक तथा बाह्य गरी १० लाख पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij