
शनिवार , आश्विन २६, २०८१
रुपन्देही, २६ असोज । आज नेपालीहरुको महान चाडपर्व बडादशैं (विजयादशमी) । मान्यजनहरुबाट टीका र आशीर्वाद ग्रहण गरी यो पर्व मनाइँदैछ । दशैं मनाउनेहरूको घरमा टीका जमरा लगाइँदैछ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्ति विजय भएको खुसीयालीमा दशैं मनाउने चलन चलेको पौराणिक मान्यता छ ।
यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजया दशमीको शनिबार टीका ग्रहण गरेका छन् । उनले मामा ससुरा बालकृष्ण आचार्य र माइजु सासू विष्णुमाया आचार्यको हातबाट दशैंको टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् । त्यस्तै मुख्यमन्त्री आचार्यले परिवारका सदस्य तथा निजी सचिवालयमा कार्यरत कर्मचारीहरुलाइ टीका लगाइदिएका छन् ।
दशैं मनाउन गृह जिल्ला अर्घाखाँची पुगेका मुख्यमन्त्री आचार्यले दशै बिदाभरी सरकारी गाडी नचढ्ने यसअघि नै निर्णय गर्नु भएको थियो । दशैंको शुभकामना दिदै उनले विजया दशमी पर्व–२०८१ ले सबैमा नयाँ उत्साह, जोश तथा जाँगर थप्दै ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’को साझा संकल्प पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशको समृद्धि, विकास, सुशासनको चाहना पूरा गर्ने अभियानमा आफ्नो भूमिकाहरु अगाडि बढाइरहेको जानकारी समेत दिएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij