
शनिवार , आश्विन २६, २०८१
भैरहवा, २६ असोज । रुपन्देहीको मर्चवार क्षेत्रमा दुर्गा मूर्ति बिसर्जन हुने स्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । कोटहीमाई गाउँपालिकाले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलसँग समन्वय गरी मर्चवारको अधिकांश मूर्ति बिसर्जन हुने कोटहीमाई–५ स्थित दुईमोहानलाई सुरक्षित तरिकाले व्यवस्थापन गरी तयारी पूरा गरेको गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले बताए ।
मूर्ति बिसर्जन र विभिन्न किसिमको धार्मिक कार्यको लागि जल भर्ने क्रममा यसअघि नदीमा डुबेर मानिसको मृत्युसँगै विभिन्न घटना हुँदै आएको थियो । यसैलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थापन गरिएको गाउँपालिकाको विपद् व्यवस्थापन समिति संयोजक समेत रहेका अध्यक्ष त्रिपाठीले बताए ।
उनले भने ,‘मुर्ति बिसर्जन कार्यमा सहभागी श्रद्धालुहरु कहाँसम्म जान पाउने, कुन क्षेत्रमा प्रवेश गर्न सक्ने, कुन ठाउँमा मूर्ति बिसर्जन गर्ने लगायतका विभिन्न जानकारीसहित घेराबन्दी गरिएको छ । कम पानी रहेको ठाउँमा स्वयंसेवक, प्रहरीको सहयोगमा कम जनशक्तिबाट मूर्ति बिसर्जनका लागि व्यवस्थापन गरिएको छ ।’ मूर्ति बिसर्जन गर्न मूर्ति लिएर पानीमा प्रवेश गर्नेलाई अनिवार्य रुपमा लाइफ ज्याकेट लगाउनुपर्ने व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष त्रिपाठीले बताए ।
रुपन्देहीको तिनाउ र दानव नदीको संगमस्थल कोटहीमाई गाउँपालिका–५ स्थित दुईमोहानमा मर्चवार क्षेत्रको कोटहीमाई, मर्चवारी र सम्मरीमाई गाउँपालिकाका १ सय भन्दा बढी मूर्ति बिसर्जन हुने अनुमान गरिएको ईलाका प्रहरी मझगावाँका प्रमुख प्रहरी निरीक्षक सन्तोष बस्यलाले जानकारी दिए । शुक्रबारदेखि सुरु गरिएको व्यवस्थापन कार्य शनिबार पूर्ण रुपमा सकिएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए ।
मूर्ति बिसर्जन गर्न जाँदा चर्को बाजा नबजाइ मर्यादित र सभ्य तरिकाले जान तथा मदिरा तथा नशालु पदार्थको सेवन नगर्न प्रहरी निरीक्षक बस्यालले आग्रह गरेका छन् । बिसर्जनका लागि मूर्ति आउने विभिन्न बाटो तथा चोकमा प्रहरी खटाइने जानकारी गराउँदै र्यालीमा कुनै किसिमको हुलहुज्जत नगर्न उनले आग्रह गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij