
आइतवार , आश्विन २७, २०८१
अर्घाखाँची, २७ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गृह जिल्ला अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुसँग समग्र जिल्लाको सुरक्षा अवस्था र समसामायिक विषयमा छलफल गरेका छन् । प्राकृतिक विपद् व्यवस्थापन, समाजमा शान्ति सुरक्षा स्थापना, समुदायसँग समन्वय लगायतका विषयमा उनले छलफल गरेका हुन् ।
चाडपर्व लक्षित सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनले सार्वजनिक सुरक्षा अवस्थामा सुधार आएको, आगामी दिनमा हुने मेला, पर्व तथा जात्राको सुरक्षा व्यवस्था प्रभावकारी बनाउने बारेमा पनि छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलको क्रममा मुख्यमन्त्री आचार्यले प्राकृतिक विपदले निम्त्याउने समस्या न्यूनीकरण र प्रभावकारी व्यवस्थापनको काममा सधैं तयारी अवस्थामा रहन निर्देशन दिए । जुनसुकै विपद्को प्रभावकारी व्यवस्थापनमा खटिने गरी योजना निर्माण गर्न उनले जोड दिए ।
समुदायसँग समन्वय गरेर सुरक्षा निकाय आपतकालिन खोज तथा उद्वार, पुर्नस्थापना लगायतको काममा खटिनुपर्ने, प्रभावितहरुलाई राहत वितरणको प्रक्रिया चुस्त बनाउने विषयमा समेत ध्यान दिन उनले आग्रह गरे ।
त्यस्तै अपराध नियन्त्रण, कानूनी शासनको सुदृढीकरण, सार्वजनिक सुरक्षालाई थप प्रभावकारी बनाउन सुरक्षा निकायहरुको जिम्मेवारी र तिनका चुनौतीका बारेमा समेत छलफल भएको थियो । छलफलमा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरुको सहभागीता थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij