
सोमवार , आश्विन २८, २०८१
भैरहवा, २८ असोज । श्रीवैष्णव परिषद् युएईको आयोजना तथा हिन्दू जागरण नेपाल युएई शाखा, सनातन गौ संरक्षण युएई र प्रवासी नेपाली एकता समाज युएईको सहयोगमा दुबईमा वडादशैं मनाइएको छ । नवरात्री कार्यक्रम घटस्थापनादेखि विजया दशमीको दिनसम्म माता दुर्गा भवानीको विभिन्न स्वरुपमा पूजा गरी भव्य रुपमा मनाइएको आयोजकले जनाएका छन्।
श्रीवैष्णव परिषद् युएईका उपाध्यक्ष पण्डित सम्पत कुमार न्यौपाने र महासचिव पण्डित प्रदिप दाहालद्वारा दैनिक देवी पाठ, विष्णु सहस्रनाम, राम स्त्रोत्रम्, मूल रामायण पाठ, हनुमान चालिसा पाठ गरिएको नवरात्र कार्यक्रममा दैनिकी साँझ आरतीका साथ हिन्दू जागरण नेपाल युएईको भजन मण्डलीद्वारा र भजन प्रस्तुत गरिएको थियो ।
पूर्व सांसद् शंकर प्रसाद पाण्डेको उपस्थिति र श्रीवैष्णव परिषद् युएईका प्रमुख सल्लाहकार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय सदस्य, धार्मिक अभियन्ता तथा समाजसेवी तोयानाथ लम्सालको प्रमुख आतिथ्यमा भएको नवरात्रको तेस्रो दिनको कार्यक्रममा शंकर पाण्डेले धर्म–संस्कृतिबारे उपस्थित भक्तभागवतहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा लम्सालले सनातन धर्म–संस्कृतिबारे उपस्थिति भक्तभागवतहरुलाई जानकारी गराउनुका साथै दुबईमा यसरी आफ्नो धर्म संस्कृतिको संरक्षण गर्न यहाँ रहेका तीनवटा धार्मिक संस्थाहरुको महत्वपूर्ण भुमिका रहेको र आफ्नोतर्फबाट जहिले पनि सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । त्यसै गरी फुलपातीको दिन वर दुबईमा बसोबास गर्दै आएका नेपालीहरुमाझ भक्तहरुद्वारा भजनकिर्तन गर्दै फूलपाती भित्र्याइएको थियो ।
नवरात्रको नवौं दिन श्रीवैष्णव परिषद् युएईका अध्यक्ष मणिराम खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकारहरु राजेन्द्र अधिकारी, ओमप्रकाश न्यौपाने, खेमराज न्यौपाने लगायत विभिन्न सामाजिक व्यक्तित्वहरुको उपस्थितिमा श्रीवैष्णव परिषद् युएईले आयोजना गरेका विभिन्न धार्मिक कार्यक्रमहरुमा भजनबाट भक्तभागवतहरुलाई भक्तिमय आनन्दप्रदान गरेको भन्दै हिन्दू जागरण नेपाल युएईका अध्यक्ष भूमिराज कंडेलले सम्पूर्ण भजन मण्डलीहरुलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो ।
उक्त प्रशंसा–पत्र श्रीवैष्णव परिषद् युएईका उपाध्यक्ष सम्पत कुमार न्यौपाने, उपाध्यक्ष अन्जली भट्टराई, सल्लाहकार राजेन्द्र अधिकारी, ओम प्रकाश न्यौपाने, व्यवसायी गोपी भुसाल र रमेश न्यौपानेहरुबाट प्रदान गरिएको थियो । विजया दशमीको दिन परिषद्का अध्यक्ष, उपाध्यक्ष र महासचिव र सचिव पण्डितहरुबाट उपस्थित भक्तहरुलाई टीका जमरा लगाइएको थियो ।
नेपाली समाज युएईका अध्यक्ष तथा परिषद्का सल्लाहकार बेद प्रसाद अर्यालले पनि टीका–जमरा लगाइएका थिए । उनले युएईका धार्मिक संस्थाहरुले यसरी हाम्रो संस्कार–संस्कृतिको जगेर्ना गरेकोप्रति खुसी व्यक्त गरे । दुर्गा पूजाको कर्ता गीता चापागाईं, भगवान सजावट संस्थाकी उपाध्यक्ष अञ्जली भट्टराई र सम्पूर्ण कार्यक्रमको व्यवस्थापन संस्थाका सचिव एवं पण्डित गणेश जोशीले र सदस्य जे सागर पराजुलीले दुर्गा माताको शास्त्रीय विधिपूर्वक बिसर्जन गरी नवरात्र पुजा सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij