२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बुटवल हस्पिटलको पूर्व गृहमन्त्री खाणसहित नेताहरुबाट अवलोकन

मंगलवार , आश्विन २९, २०८१

बुटवल, २९ असोज । रुपन्देहीको बुटवलमा निर्माणसम्पन्न भइ उपचार सेवा सुरु भएको बुटवल हस्पिटल प्रा.लि.को पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले अवलोकन गरेका छन् । मंगलबार खाणसहित नेताहरुले अस्पतालको नवनिर्मित भवन, उपकरण तथा सेवाका बारेमा जानकारी लिएका हुन् । 

अस्पतालको अवलोकनपश्चात पूर्वमन्त्री खाणले भने,‘बुटवल धेरै हिसाबले अब्बल रहे पनि स्वास्थ्य क्षेत्रमा कता कता पछाडी हो कि भन्ने थियो, अब बुटवल हस्पिटल प्रा.लि.ले त्यसको अन्त्य गरेको हुनुपर्छ । संविधानले परिकल्पना गरे अनुसार स्वास्थ्यको हक नागरिकको मौलिक अधिकार भए पनि सबैको पहुँचमा सरकार पुग्न नसकेको भन्दै पूर्वमन्त्री खाणले निजी क्षेत्रले सरकारले गर्न नसकेका कामहरु गरेर नागरिकको ज्यान बचाउने गरेको बताए । बुटवल हस्पिटल प्रा.लि.ले दुःखी, गरीब तथा असहाय बिरामीहरुको उपचारमा पनि मद्दत गर्ने विश्वास व्यक्त गर्दै उनले यो हस्पिटल यस क्षेत्रकै गहना भएकोले सबैको सकारात्मक सहयोग आवश्यक रहेको उनले बताए । 

सो अवसरमा अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले निजी क्षेत्रबाट भएको प्रयासलाई तीन तहका सरकार र नागरिकले सकारात्मक ढंगले सहयोग गरे आफूहरुको हौसला बढ्ने बताए । उनले छिट्टै नर्सिङसहितका कार्यक्रमहरु पनि अघि बढाउने बताउँदै राज्यले तोकेको मापदण्ड अनुसार स्वास्थ्य क्षेत्रलाई अघि बढाउनुपर्ने बताए ।

अस्पतालको अवलोकनका क्रममा गण्डकी प्रदेशका अर्थमन्त्री डा. टुक बहादुर गुरुङ, नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक जमुना ढकाल, बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) खेलराज पाण्डेय, बुटवल वडा नम्बर ४ का वडाअध्यक्ष नरिश्वर शर्मा पौडेल, वडा नम्बर ६ का वडाअध्यक्ष लोकनाथ न्यौपाने, नेपाली कांग्रेस बुटवल उपमहानगर उपसभापति ज्योती भण्डारी, बुटवल उद्योग वाणिज्य संघका महासचिव मुक्ति अधिकारी, बुटवल हस्पिटल प्रा.लि.का सचिव मोहन पाण्डे, अस्पतालका निर्देशक डा कृष्ण खनाल लगायतले अस्पतालका विषयमा धारणा राखेका थिए । 

407513ce-8657-49ac-b311-cb1cb6b75d39 (1).jpeg

आजभन्दा २४ वर्षअघि स्थापना भएको यो अस्पतालमा विभिन्न विधाका ३५ जना कन्सल्टेण्ट डाक्टरहरुसहित २ सय ५० जना कर्मचारीहरु रहेका छन् । बुटवलमा निजी क्षेत्रको १ सय शैयाको आफ्नै भवनमा बनेको बुटवल हस्पिटल प्रा.लि.पहिलो अस्पताल भएको अस्पतालले जनाएको छ ।