
मंगलवार , आश्विन २९, २०८१
बुटवल, २९ असोज । घटस्थापनादेखि सुरु भएको दशैं भन्नाले टीका, जमरा, नाचगान, खसीबोका, खानपान मात्रै होइन, सरायँ नाच पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । परम्परागत हातहतियार र युद्धकलाको झल्को दिने सरायँ नाच दशैंको अन्तिम दिन पूर्णिमाको दिन खेलिन्छ । यसैबीच जितगढी सराय व्यवस्थापन समिति बुटवल–१३ ले पूर्णिमाको दिनमा सराय नाच प्रर्दशन गर्ने भएको छ । विगतका वर्षहरुमा जस्तै असोज ३० गते बुधबार (भोलि) सराय नाच देखाउन लागिएको आयोजक समितिले जानकारी दिएको छ ।
समितिका अध्यक्ष खिम बहादुर थापाले ऐतिहासिक लोपन्मुख सराय नाच संरक्षणका लागि सराय नाच गर्न लागिएको बताए । वि.सं २०७० सालदेखि गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठानबाट बसाइसराइ गरी रुपन्देहीको बुटवल आएका मानिसहरुको पहलमा सराय नाच संरक्षण गर्ने उद्देश्यले वर्षेनी यो कार्यक्रम राखिएको अध्यक्ष थापाले जानकारी दिए । सराय नाच संरक्षण गर्न बुटवल उपमहानगरपालिका र प्रदेश सरकारबाट सहयोग भएको पनि उनले बताए । ।
लुम्बिनी प्रदेश उद्योग तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानले उद्घाटन गर्ने सो सराय नाँचमा नेपाली सेनाले टुकडीले पनि सरायँ प्रर्दशन गर्ने कार्यक्रम छ । समितिका सचिव पिताम्बर भण्डारीले दिउँसो १ बजेदेखि सुरु भएर ५ बजे सराय नाच सकिने बताए । नेपाल र नेपालीको मौलिक संस्कार र संस्कृति पछिल्लो समय संकटमा पर्दै जान थालेपछि विगत एक दशकदेखि समितिले निरन्तर सरायँ नाच प्रदर्शन गर्दै आएको सचिव भण्डारीको भनाइ छ । परापूर्वकालदेखि नाच्दै आएको साराय नाँचलाई अहिलेका पुस्तासम्म देखाउनुपर्छ भने लागेरै कार्यक्रम गर्न लागिएको आयोजकले बताएका छन् ।
सरायँ खेल्दा तरबार, खुकुरी आदि परम्रागत हातहतियारहरु नचाएर युद्धकला प्रदर्शन गर्दै एकआपसमा खुसी साटासाट गर्ने र रमाइलो गर्ने गरिन्छ । सराय नाच विशेष गरी लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, प्यूठान, कपिलवस्तु, रुपन्देही, दाङ तथा गण्डकी प्रदेशको बागलुङ, स्याङ्जा तथा अन्य विभिन्न जिल्लाहरुका कोट तथा शक्तिपिठहरूमा नाच्ने प्रचलन छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij