२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

सिद्धार्थनगर–४ मा वडाकप फुटबल प्रतियोगिता सुरु

बुधवार , आश्विन ३०, २०८१

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा, ३० असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ मा बुधबारदेखि दोस्रो वडास्तरीय वडाकप फुटबल प्रतियोगिता सुरु भएको छ । सि.न.न.पा.-४ नम्बर वडा कार्यालय, रुपन्देहीको आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको खेलमैदानमा सुरु भएको प्रतियोगिताको रुपन्देहीको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उद्घाटन गरेका छन् । 

    सो अवसरमा बोल्दै प्रजिअ अर्यालले स्वास्थ्यसँगै अनुशासनका लागि पनि खेल आवश्यक रहेको बताए । उनले भने, ‘यो सिर्जनात्मक कार्यको सुरुवात गर्ने सिद्धार्थनगर वडा नम्बर ४ को टीम तथा प्रोत्साहन र हौसला प्रदान गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।’

    सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले खेलाडीको प्रोत्साहन र खेलकुद क्षेत्रको विकासका लागि दोस्रोपटक फुटबल प्रतियोगिता आयोजना गरिएको बताए । सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता समेत रहेका यादवले प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले रुपन्देही जिल्लालाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताए ।

    सिद्धार्थनगर–४ का वडा सदस्य तथा कार्यक्रम संयोजक हरि बहादुर के.सी.को स्वागत तथा कम्प्युटर अपरेटर कल्पना खनालको सञ्चालनमा भएको कार्यक्रममा सिद्धार्थनगर–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तव, फुलबारी सेवा समाजका अध्यक्ष हुकुमराज गुरुङ लगायतको आतिथ्यता रहेको थियो । प्रतियोगितामा श्री तमु समाज, श्री दुर्गा शिव तथा कृष्ण मन्दिर सञ्चालक समिति, सिद्धार्थ बौद्ध गुम्बा, फुलबारी सेवा समाज, दोगहरा फ्रन्ट्रस, ढाक्रे खेलकुद तथा साँस्कृतिक परिवार र वडा नम्बर ४ कार्यालय कर्मचारी गरी ७ वटा टीमको सहभागीता रहेको आयोजकले जनाएका छन् । 

    IMG_2215.JPG