
बुधवार , आश्विन ३०, २०८१
काठमाडौं, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार परिवर्तनको हल्ला निराधार भएको बताएका छन् । ६९ औं प्रहरी दिवसका अवसरमा बुधबार प्रहरी मुख्यालय नक्सालमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले दशैंपछि सरकार परिवर्तन हुने हल्ला निराधार भएको भन्दै अहिलेको गठबन्धनको सरकार पूरै अवधि चल्ने बताएका हुन् ।
ठूलो योगदान र इतिहास बोकेका नेपाली कांग्रेस र एमाले मिलेर अहिलेको बनेको दुईतिहाईको सरकार खरानीको डल्लो नभएको उनले बताए । प्रधानमन्त्री ओलीले देशलाई परिवर्तन गर्नका लागि ठूला दल मिलेर सरकार बनेको स्पष्ट पारे ।
आफूले १ वर्ष ९ महिना नेतृत्व गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले आगामी आम निर्वाचन कांग्रेस सभापति देउवाको नेतृत्वमा हुने समेत बताए । उनले अहिलेको संविधान र प्रणालीको रक्षा गर्दै जनताको अधिकारलाई सुदृढ बनाइने जिकिर गरे । उनले प्रहरीसम्बन्धी कानून छिटै पारित गर्ने र प्रहरीमा नयाँ दिनको उदय हुने धारणा राखे ।
त्यस्तै गृहमन्त्री रमेश लेखकले संघीय संसद्को आगामी अधिवेशनबाट प्रहरीसम्बन्धी नयाँ कानून निर्माण गरेर कार्यान्वयनमा ल्याइने बताए । उनले सुरक्षा संगठनहरूलाई थप सशक्त बनाउन सरकारले गर्न सक्ने सबै उपायहरू अवलम्बन गर्ने धारणा राखे ।
समारोहमा नेपाल प्रहरीबाट कवाज, झाँकी तथा डेमोन्स्ट्रेशनहरूसमेत रोचक र नेपाल प्रहरीको इतिहासदेखि कार्य प्रकृतिसम्म झल्कने प्रस्तुती देखाइएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij