
बिहिवार , कार्तिक १, २०८१
भैरहवा, १ कार्तिक । रुपन्देहीको भैरहवामा ‘वीपी कोइराला स्मृति कप टी–२०’ क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक ३ देखि १० गतेसम्म भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा प्रतियोगिता हुने आयोजक नेक्सस क्रिकेट एकेडेमीले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
नेपाली क्रिकेटको विकासमा टेवा पुर्याउने र खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दक्षिण एसियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र नेपाल गरी पाँच देशका प्रथम श्रेणीका खेलाडीहरुको सहभागीता प्रतियोगिता गर्न लागिएको नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरत बहादुर शाहीले बताए । प्रतियोगितामा पाकिस्तान राष्ट्रिय टीमबाट खेलिसकेका इमरान नाजिर, बंगलादेशी स्टारहरु आलोक कपाली र मुनिम साहरियर, भारतबाट आइपीएल खेलाडी दीपक पुनियासहित सबै टीममा प्रथम श्रेणीका खेलाडीको सहभागीता रहने उनले बताए ।
‘नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वर प्रसाद कोइराला (वीपी) ले नेपाली जनताको स्वतन्त्रता र स्वाभिमानको रक्षाका खातिर जीवनपर्यन्त गरेको संघर्षको सम्झना गर्दै बुद्ध जन्मभूमि लुम्बिनीको प्रवेशद्वार भैरहवामा प्रतियोगिताको आयोजना गर्दैछौं’ अध्यक्ष शाहीले भने, ‘यो सबैका लागि महत्वपूर्ण हुनेछ भन्ने हाम्रो विश्वास छ ।’ नेपालमा क्रिकेटले प्रगति गरेको विश्व कपमा सहभागी भएकाले यो खेललाई मजबुत बनाउन, खेलको विकास गर्न र खेलाडीलाई उच्च प्रदर्शन गर्ने लायक बनाउनु आजको आवश्यकता रहेको उनको भनाइ छ ।
उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न झण्डै १ करोड २० लाख खर्च हुनेछ । सिद्धार्थनगर नगरपालिकाको सहकार्य, पर्यटन बोर्डको मौर्य होटल भैरहवाको आतिथ्यतामा प्रतियोगिता हुने शाहीले बताए । नेपाल क्रिकेट संघको स्वीकृति तथा रुपन्देहीको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न रुपन्देहीका १६ वटै स्थानीय तहको साथ रहने उनले बताए ।
विजेता टीमलाई रु. ५ लाख र उपविजेतालाई रु. ३ लाख पुरस्कार प्रदान गरिने शाहीले जानकारी दिए । त्यस्तै म्यान अफ द सिरिजलाई रु. ३५ हजार, बेस्ट बलरलाई रु. २० हजार, बेस्ट ब्याटस्म्यानलाई रु. २० हजार र म्यान अफ द म्याचलाई रु. ५ हजार प्रदान गरिने आयोजकले जनाएका छन् । प्रथम पुरस्कारको राशी बुटवल उपमहानगरपालिकाले प्रायोजन गरेको छ । आयोजकका अनुसार प्रत्येक दिन दुईवटा खेल र प्रतियोगिता अवधिभर १३ वटा खेल हुनेछ ।
पत्रकार सम्मेलनमा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले काठमाडौं बाहिर हुने लागेको यो प्रतियोगिता महत्वपूर्ण रहेको बताए । उनले यस्ता प्रतियोगितालाई यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने भएकाले यसलाई सफल बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सह–सचिव विष्णु थापा, लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङ, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा लगायतले बोल्दै प्रतियोगितामार्फत रुपन्देहीलाई विश्वमै चिनाउन सकिने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij