२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

राजकीय बुद्ध विहारमा तीन महिने बर्षावासको समापन

बिहिवार , कार्तिक १, २०८१

  • 814
    Shares
  • 814
    Shares
  • भैरहवा, १ कार्तिक । भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा तीन महिने बर्षाबास तथा धार्मिक अनुष्ठानको बिहीबार समापन गरिएको छ । राजकीय बुद्ध विहारमा आयोजित कार्यक्रममा विहारका संरक्षक भिक्षु सागर धम्मले धर्मदेशनासहित बर्षाबासको समापन गरेका हुन् ।
     
    बर्षातको तीन महिना प्रतिकुल मौसमका कारण धर्मयात्रा गर्न असहज हुने भएका कारण उपासक उपासिकासहित भिक्षुहरु सुरक्षित स्थानमा बसेर धार्मिक अनुष्ठानमा सरिक हुने प्रक्रियालाई बर्षाबास भनिन्छ । लुम्बिनीमा विगत ८ वर्षदेखि स्थानीय समुदायकातर्फबाट बर्षाबास तथा धार्मिक अनुष्ठान कार्यक्रमको संयोजक गठन गरी मनाउने गरिएको छ ।
     
    बौद्ध महिला समितिको व्यवस्थापनमा भएको बर्षाबासमा अवधिभर दैनिक धर्मदेशना, पूजा लगायतका विभिन्न धार्मिक गतिविधिहरु सञ्चालन गरिएको थियो । राजकीय बुद्ध विहारका संरक्षक भिक्षु सागरधम्मले भगवान बुद्धले सबै प्राणी जगतको कल्याणका लागि प्रदान गरेको उपदेशलाई असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म ९० दिनसम्म बुद्ध जन्मस्थल लुम्बिनीमा बर्षाबास तथा धार्मिक अनुष्ठान कार्यक्रमको माध्यमबाट उजागर गर्ने काम गरेको बताए ।
     
    उनले आफूहरुले विगत ८ वर्षदेखि स्थानीयहरुलाई बुद्धको उपदेशसँग जोडेर बर्षाबास अवधिभर पञ्चशिल ग्रहण, बुद्धपूजा र धर्मदेशनामा सरिक गराएको बताए । भिक्षु धम्मले लुम्बिनी धार्मिक पर्यटकीय स्थल भएकाले यहाँ धार्मिक अनुष्ठानका कार्यक्रमहरु बढाउनुपर्नेमा जोड दिए ।
    barkhabash  (2).jpeg

    समापन कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, लुम्बिनी बौद्ध विश्व विद्यालयका उपप्राध्यापक भिक्षु सिरी वजिर, लुम्बिनी होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष लिलामणि शर्मा, संयोजक मिरा सापकोटा गौतम, सह–संयोजक सिर्जना पंगेनी लगायतले बोल्दै लुम्बिनीका स्थानीयलाई जोड्दै आध्यात्मिक केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । असार पूर्णिमादेखि सुरु भएको आठौं चरणको बर्षावासको चिवरदान कार्यक्रम भने कार्तिक ४ गते हुनेछ । 

    राजकीय बुद्ध विहारमा हालसम्म ८ जना संयोजक भएर बर्षाबास तथा धार्मिक अनुष्ठान कार्यक्रम सम्पन्न गरिएको छ । जसको २०७४ मा टिका कटेल, २०७५ मा विष्णुकुमारी बस्याल, २०७६ मा राजकुमारी गुरुङ (गुरुआमा), २०७७ मा मञ्जु ढकाल, २०७८ मा राधिका न्यौपाने, २०७९ मा माया भुसाल, २०८० मा माया गुरुङ र २०८१ मा मिरा सापकोटा गौतमले संयोजकको भूमिका निर्वाह गरेका हुन् ।