२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

ईप्रका धकधईका प्रमुख प्रहरी निरीक्षक घिमिरे पुरस्कृत

बिहिवार , कार्तिक १, २०८१

भैरहवा, १ कार्तिक । ६९ औं प्रहरी दिवस–२०८१ को अवसरमा ईलाका प्रहरी कार्यालय (ईप्रका) धकधई, रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरे पुरस्कृत भएका छन् । 
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङले प्रहरी दिवसको अवसरमा प्रहरी निरीक्षक घिमिरेलाई अभिलेखमा जनिने गरी नगदसहित पुरस्कृत गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतबाट पुरस्कृत हुने उनी एकमात्र प्रहरी अधिकृत हुन् ।

लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल, रुपन्देहीमा बुधबार आयोजित विशेष समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी निरीक्षक घिमिरेलाई पुरस्कार प्रदान गरेका हुन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) माधव प्रसाद श्रेष्ठले शान्ति सुरक्षा तथा चोरी तस्करी नियन्त्रणमा उत्कृष्ट कार्य गरेवापत घिमिरेलाई पुरस्कृत गरिएको जानकारी दिए । घिमिरेले आफू तथा मातहतका प्रहरी कार्यालयहरुको भौतिक संरचना निर्माण तथा स्थानीय सरकारसँगको कुशल सहकार्य गर्नमा सफल भएकोमा पुरस्कृत गरिएको एसएसपी श्रेष्ठले बताए ।

जिल्लामा प्रहरी व्याटनको तयारी राम्रो गरेको तथा स्थानीय जनसमुदायसँग सहकार्यमा उत्कृष्ट कार्यसम्पादन गरेका कारण प्रहरी निरिक्षक घिमिरे लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जित सिंह राठौरले बताए ।

रुपन्देहीको पुर्व दक्षिण क्षेत्रको सुरक्षा जिम्मेवारीको नेतृत्व गरिरहेका घिमिरेले लागूऔषध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको, चोरी तस्करी तथा सीमा अपराध नियन्त्रण गर्नमा स्थानीय जनसमुदायसँग सहकार्य गरेर काम गरेको स्थानीय जनप्रतिनिधिहरु बताउँछन् । रोहिणी क्षेत्रको शान्ति सुरक्षा कायम राख्न तथा स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय, न्याय सम्पादनमा सहकार्य, सामाजिक सचेतनामूलक कार्यक्रममा सहयोग र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा प्रहरी निरिक्षक घिमिरेको महत्वपूर्ण भूमिका रहेको रोहिणी गाउँपालिकाका प्रवक्ता वीर बहादुर क्षेत्रीले बताए ।

प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय मातहतमा रहेका विभिन्न जिल्लाबाट १ जना प्रहरी उपरीक्षक, १ जना प्रहरी नायव उपरीक्षक, ५ जना प्रहरी निरीक्षक, ४ जना प्रहरी सहायक निरीक्षक, ९ प्रहरी हवल्दार र ५ जना प्रहरी जवान पुरस्कृत भएका छन् ।