२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

श्री दुर्गा शिव तथा कृष्ण मन्दिर समितिले जित्यो वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि

शुक्रवार , कार्तिक २, २०८१

भैरहवा, २ कार्तिक । सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालय, रुपन्देहीको आयोजनामा सञ्चालित दोस्रो वडास्तरीय वडाकप फुटबल प्रतियोगिता–२०८१ को उपाधि श्री दुर्गा शिव तथा कृष्ण मन्दिर सञ्चालक समितिले जितेको छ । बुधबारदेखि प्रतियोगिता सुरु भएको थियो । 

शुक्रबार (आज) भएको फाइनल खेलमा ढाक्रे खेलकुद तथा साँस्कृतिक परिवारलाई ६–१ गोल अन्तरले पराजित गर्दै श्री दुर्गा शिव तथा कृष्ण मन्दिर सञ्चालक समितिले प्रतियोगिताको उपाधि जितेको हो । फाइनल खेलमा श्री दुर्गा शिव तथा कृष्ण मन्दिरका खेलाडी सामर्थ्य गुरुङले ५ गोल गरेका थिए । त्यस्तै सोही टीमका खेलाडी पुरन घिमिरेले १ गोल गरेका थिए ।

त्यसै गरी ढाक्रे क्लबकोतर्फबाट खेलाडी सागर गुरुङले १ गोल गरेका थिए ।

गत वर्ष सञ्चालित वडास्तरीय फुटबल प्रतियोगिताको विजेता भनेको ढाक्रे खेलकुद तथा साँस्कृतिक परिवार यस वर्ष भने उपविजेता बनेको छ । विजेता र उपविजेतालाई खसी, मेडल, ट्रफी तथा प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो । विजेता, उपविजेता र सहभागी टीमलाई प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगितामा श्री दुर्गा शिव तथा कृष्ण मन्दिरका पुरन घिमिरे उदयीमान खेलाडी, सोही टीमकै सामर्थ्य गुरुङ उत्कृष्ट खेलाडी, ढाक्रे क्लबका प्रथम गुरुङ उत्कृष्ट डिफेन्स र दोगहरा फ्रन्ट्रसका सन्दिप हरिजन नवप्रतिभा खेलाडी घोषित भएको समाजसेवी अर्जुन गुरुङले बताए ।

प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै सिद्धार्थनगर–२ का अध्यक्ष छेदीलाल श्रीवास्तवले वडास्तरीय फुटबल प्रतियोगिताले खेलाडीलाई अगाडि बढ्न मद्दत गर्ने बताए । उनले भने, ‘वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले खेलाडी उत्पादन हुने गरी यो कार्यक्रम सञ्चालन गर्नुभएको छ । उहाँले वडाबासीमा निकै उत्साह जगाउनुभएको छ ।’

त्यस्तै सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले आफू पनि खेलाडी भएकोले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताए । सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता समेत रहेका यादवले आफू अघि बढाएको कदममा विश्वास राख्दै वडाबासीले साथ र सहयोग गरेको बताए ।

कार्यक्रम संयोजक तथा सिद्धार्थनगर–४ का वडा सदस्य हरि बहादुर के.सी.ले आगामी दिनमा यस्तो प्रतियोगिता अझ राम्रोसँग सञ्चालन गर्ने बताए ।

फुलबारी सेवा समाजका अध्यक्ष हुकुमराज गुरुङले भने, ‘खेल भनेको जीत मात्र होइन । खेलेर सिकिन्छ ।’

प्रतियोगितामा श्री तमु समाज, श्री दुर्गा शिव तथा कृष्ण मन्दिर सञ्चालक समिति, सिद्धार्थ बौद्ध गुम्बा, फुलबारी सेवा समाज, दोगहरा फ्रन्ट्रस, ढाक्रे खेलकुद तथा साँस्कृतिक परिवार र वडा नम्बर ४ कार्यालय कर्मचारी गरी ७ वटा टीमको सहभागीता रहेको आयोजकले जनाएका छन् । 

प्रतियोगितामा सन्तोष गुरुङ, दुर्गा बहादुर गुरुङ, कृष्ण बहादुर शाक्य, कृष्ण बहादुर श्रेष्ठ र भोला सिंह गुरुङ निर्णायकको भूमिकामा थिए ।