२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवा र बुटवल बसपार्कलाई व्यवस्थित गरिने, सडक छेउका पार्किङस्थल दुईदिन भित्र हटाइने

शुक्रवार , कार्तिक २, २०८१

भैरहवा, २ कार्तिक । रुपन्देहीमा रहेका दुईवटा बसपार्कलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने गरी निर्णय गरिएको छ । जिल्लामा सञ्चालित सबै प्रकारका सवारीसाधनहरुको पार्किङ्ग आवागमनलाई थप व्यवस्थित बनाउनका लागि सिद्धार्थनगर नगरपालिकाको भैरहवा बसपार्क र बुटवल उपमहानगरपालिकाको बसपार्कलाई जिरो प्वाईन्ट बनाइ कार्यान्वयन गर्ने निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले सिद्धार्थनगरमा रहेका यति होटल अगाडि र लुम्बिनी रोड लगायतका स्थानमा रहेका पार्किङ क्षेत्रलाई खाली गरी भैरहवा बसपार्कलाई व्यवस्थित गर्ने निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अघिकारी गणेश अर्यालले जानकारी दिए ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईश्तियाक अहमद् खाँ, प्रमुख प्रशासकीय अधिकृत जनक थापा, पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का उपाध्यक्ष नारायण घिमिरे, सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि.का अध्यक्ष संजीव रोक्का, बेलहिया गाउँ समाजका अध्यक्ष सुमित प्रधान लगायत सुरक्षा निकायका पदाधिकारीसहितको बैठकले सडक छेउमा पार्क गरिएका गाडीलाई ४८ घण्टाभित्र हटाउने प्रतिवद्धता जनाएको छ ।

बैठकले सडक छेउमा रहेका पार्किङ स्थललाई हटाउने व्यवस्था कार्यान्वयन गराउने जिम्मेवारी यातायात व्यवसायीहरुले लिने तथा ट्राफिक प्रहरी र सुरक्षाकर्मीरुले उक्त निर्णय कार्यान्वयनको पूर्ण प्रत्याभुति गराउने गरी कडाइका साथ नियमन गर्ने निर्णय भएको छ ।

बैठकले सिद्धार्थनगर नगरपालिकाले पार्किङ्गस्थल, सार्वजनिक शौचालय, फुटपाथ, यात्रु प्रतिक्षालय, बिजुली बत्ती लगायतका भौतिक पूर्वाधाहरुको निर्माण कार्य द्रुत गतिमा गरी ३० दिनभित्र उक्त कार्य सम्पन्न गर्ने निर्णय भएको छ ।

त्यसै गरी बसपार्कमा पार्किङ्ग गरिएका यात्रुवाहक सवारीसाधनहरु (बस) ले बेलहियामा रहेका यात्रुहरुलाई उतार्ने र चढाउने कार्य मात्र गर्न पाउने भएका छन् यात्रु छाड्न र यात्रु लिन जाने लामो दुरीमा चल्ने बसले बेलहिया क्षेत्रमा पार्किङ भने गर्न नपाउने भएका छन् ।