
शनिवार , कार्तिक ३, २०८१
भैरहवा, ३ कार्तिक । भारतका विभिन्न सहरमा पुर्याएर बेचिएका, अवैध काममा लगाइएका र सडकमा जीवन विताइरहेका बालबालिकालाई उद्धार गरेर नेपाल ल्याइएको छ । भारतमा रहेर नेपाल-भारतमा मानव बेचविखनको क्षेत्रमा काम गर्दै आएको संस्था किन इण्डियाले १२ जना बालबालिकाको उद्धार गरेर नेपाल ल्याएको हो ।
शुक्रबार रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल ल्याइएका बालबालिकालाई जिल्ला प्रशासन मार्फत् आफन्तको जिम्मा लगाइएको छ । आफन्त फेला नपरेका र घरमा सुरक्षित नरहेका बालबालिकालाई भने मानव वेचविखनविरुद्धको क्षेत्रमा काम गर्ने संस्थाहरुले सहारा दिने किन इण्डियाका नेपाल प्रमुख इन्द्रराज भट्टराईले जानकारी दिए ।
उनका अनुसार उद्धार गरिएकाहरुमा ९ जना बालिका, एकजना किशोरी र २ जना बालक छन् । किन इण्डियाले भैरहवास्थित विभिन्न संस्थाहरुको सहकार्यमा जिल्ला प्रशासन मार्फत् आफन्तको जिम्मा लगाएको हो।
विगतदेखि पारिवारिक, गरिबी र रोजगारीका लोभले बालबालिका उमेर नपुग्दै भागेर, आफन्त वा दलालको पंजामा परेर भारत जाने र त्यहाँ बेचविखनमा पर्ने गरेको उनले जानकारी दिए ।
उद्धार गरिएका बालिबालिकामा उदयपुरका ४, सुनसरीका ३, धनुषाका २, सिन्धुपाल्चोक, धनकुटा र पर्साका १-१ जना छन् । उनीहरुलाई भारतको सुपाउ, मधुवनी, गया, बिहार, दिल्ली, बेंग्लुर लगायतका ठाउँबाट उद्धार गरिएको हो ।
उद्धार गरिएका बालबालिकालाई नेपाल ल्याउन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, नेपाली दूतावास दिल्ली, सिद्धार्थनगर नगरपालिका, भारतका विभिन्न संघसंस्था, जिल्ला प्रशासन, प्रहरी, सशस्त्र लगायतले सहयोग गरेका थिए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मानवीय कार्यमा किन इण्डियाले गरेको योगदान महत्वपूणर् रहेको जानकारी दिए । प्रजिअ अर्यालले आफन्त, दलाल र प्रलोभनले नेपाली बालबालिकाहरु बेचविखनमा पर्ने गरेको भन्दै यसलाई रोक्न सबै क्षेत्रले उत्तिकै काम गर्नुपर्ने बताए । सुरक्षाकर्मीले रातदिन खटेर काम गर्दा समेत दाललले विभिन्न भित्री नाकाको प्रयोग गरेर बालबालिकालाई भारत पुर्याएर बेचविखन गर्ने गरेको भन्दै उनले सबै मिलेर यसलाई रोक्न लागिपर्नुपर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij