
शनिवार , कार्तिक ३, २०८१
भैरहवा, ३ कार्तिक । वीपी कोइरालाको स्मृतिमा रुपन्देहीको भैरहवामा शनिबारदेखि वीपी कोइराला स्मृति कप टी–२० क्रिकेट प्रतियोगिता २०२४ सुरु भएको छ । शनिबार भएको पहिलो खेलमा भारतीय क्लब लाईफ केयर क्रिकेट क्लबले पाकिस्तानी क्लबलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानको जावेद इन्टरनेशनल स्पोर्ट्स एकेडमीले निर्धारित २० ओभर खेल्न सकेन । १८ दशमलव १ ओभरमा सम्पूर्ण गुमाउँदै पाकिस्तानले ८९ रन बनायो । उसको लागि रिसभ जोशीले सर्वाधिक ४६ रनको योगदान गरे ।
त्यस्तै पाकिस्तानका अलि हुसेनले २५ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ भारतका रोहित डाङ्गवलले ४ ओभरमा १९ रन खर्चिदै पाकिस्तानको ४ महत्वपूर्ण विकेट लिए । भारतकै योगेश कुमार र सक्षमले समान ३÷३ विकेट लिए ।
९० रनको विजयी लक्ष्यसहित मैदान प्रवेश गरेको भारतको लाईफ केयर क्रिकेट क्लबले ७ दशमलव ५ ओभरमा १ विकेट गुमाउँदै जीत निकाल्यो । आईपिएल खेलिसकेका भारतीय खेलाडी दिपक पुनियाले भारतको लागि ६४ रनको पारी खेले । त्यस्तै दिपांशु फोरेले अविजित २१ रन र राजेश शर्माले अविजित २ रनको योगदान गरे ।
पाकिस्तानको लागि एक मात्र विकेट पाकिस्तानको राष्ट्रिय टोलीमा समेत रहेका ईमरान नाजिरले लिए ।
प्रतियोगितामा बगलादेशबाट गुलाज वरियर्स बांग्लादेश, टाइगर्स इन्टरनेशनल स्पोर्ट्स पाकिस्तान, नेक्सस रुपन्देही ११ रुपन्देही, लाइफ केयर क्रिकेट क्लब भारत, श्रीलंका स्टेट सर्विसेज क्रिकेट एसोसिएसनको टीमको सहभागीता छ ।
विजेता टीमलाई रु. ५ लाख र उपविजेता टीमलाई रु. ३ लाख पुरस्कार प्रदान गरिने आयोजक नेक्सस क्रिकेट एकेडेमीले जनाएको छ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई रु. ३५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरलाई जनही रु. २० हजार तथा प्रत्येक खेलमा म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij