
आइतवार , कार्तिक ४, २०८१
भैरहवा, ४ कार्तिक । रुपन्देहीको भैरहवामा एओ एलायन्स कोर्स अन्तर्गत ‘प्राइमरी ट्रमा केयर एण्ड ननअपरेटिभ फ्याक्चर म्यानेजमेन्ट’ तालिम सम्पन्न भएको छ । शुक्रबार र शनिबार गरी दुईदिन सञ्चालन भएको तालिममा ७० जनाको उपस्थिति रहेको युवा समाजसेवी तथा तालिमको समन्वयकर्ता क्याप्टेन गौरव बोहराले बताए । उनले सिल्भरलाईन हस्पिटल, काठमाडौंका चिकित्सकहरुले तालिमको सहजीकरण गर्नुभएको जानकारी दिए ।
उनले भने, ‘गाउँघरमा कसैलाई चोटपटक लागेको वा कुनै दुर्घटनामा परी घाइते भएको स्वास्थ्य संस्था टाढा भएको अवस्थामा संस्थामा पुग्नुअघि प्रारम्भिक उपचार सहज होस् र मानिसलाई कुनै जटिल समस्या नआओस् भन्नका लागि यो तालिम गरिएको हो । ’
सिल्भरलाईन हस्पिटलका अर्थोपेडिक सर्जन डा. रमेश प्रसाद सिंहले यो तालिम पारामेडिक्स, नसै, मेडिकल अफिसर, अर्थोपेडिक सर्जन, सिनियर अर्थोपेडिक सर्जन लगायतका लागि तालिम सञ्चालन भएको बताए । उनले भने, ‘स्वास्थयकर्मीको सीप विकास तथा शिक्षामार्फत स्थानीयस्तरमा क्षमता अभिवृद्धि गर्नका लागि तालिम सञ्चालन गरिएको हो ।’
चोटपटक लागेर वा दुर्घटना भइ घाइते भएको प्रारम्भिक अवस्थामा बिरामीको हेरचाह हुन सके धेरैजनाको ज्यान बचाउन सकिने र अपांग हुन नदिने लगायत धेरै समस्याको समाधान गर्न सकिने उनको भनाइ छ ।
तालिममा सहभागी नेपाल सि.एम.ए. संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायले सिल्भरलाईन हस्पिटलको प्राविधिक सहयोगमा सञ्चालित तालिममा सहभागी हुन पाउँदा खुसी लागेको बताए । उनले अपांगता कम गराउन यस्ता तालिमले सहयोग गर्ने बताए । उनले भने, ‘यहाँ सिकेका कुरा व्यवहारमा उतार्नेछौं ।’
तालिममा क्या. गौरव बोहरासहित राजन शुक्ला, सन्दिप थापा, सद्दाम शाह, सलमान खान, रविकान्त उपाध्याय, इशान भण्डारी र सुमन गुरुङले संयोजन तथा सहयोग गरेका थिए । तालिममा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको राजन शुक्लाले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij