२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

होटल पौवाको बुटवल शाखामा सरायँ नाच प्रस्तुत

आइतवार , कार्तिक ४, २०८१

रुपन्देही, ४ कार्तिक । नेपालीहरुको विभिन्न चाडपर्वमा परम्पराअनुसारका गतिविधिहरु गर्दै आएको होटल पौवाले यस वर्षको बडादशैंको अवसरमा शुक्रबार सरायँ नाच प्रस्तुत गरेको छ। होटल पौवाको तिलोत्तमा–३ योगिकुटीमा रहेको शाखाले गुल्मीको छत्रकोट गाउँपालिका–१ स्थित हुँगाका कलाकारहरु ल्याएर सरायँ नाच प्रस्तुत गरेको हो ।

सरायँ नाचसँगै पौवाका विभिन्न परिकारहरुको स्वादमा दर्शकहरुले मनोरञ्जन लिएका थिए । करिब २ हजार दर्शकको सहभागीता रहेको कार्यक्रममा सरायँ नाच, ढाल नाच, खुडा नाच, लौरो नाच लगायतका विभिन्न साँस्कृतिक प्रस्तुती रहेका थिए । त्यसै गरी होटल पौवाले तयार पारेका परम्परागत परिकारहरु सेलरोटी, चुकौनी, गुन्द्रुकको अचार, काक्राको अचार लगायतका खानाका परिकार रहेका थिए ।

दशैंका बेला पश्चिम नेपालका केही भागमा गरिने मनोरञ्जनात्मक नाचको रुपमा रहेको सरायँबारे नयाँ पुस्तालाई समेत जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको होटल पौवाका ब्राण्डिङ प्रमुख विष्णु भण्डारीले बताए ।

विशेष गरी लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, प्यूठान, कपिलवस्तु, रुपन्देही, दाङ तथा गण्डकी प्रदेशको बागलुङ, स्याङ्जा तथा अन्य विभिन्न जिल्लाहरुमा कोट तथा शक्तिपीठहरूमा नाचिने सरायँ नाचको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्न सकिने उद्देश्यसाथ विगत वर्षदेखि नै होटल पौवाले कार्यक्रम गर्दै आएको छ ।

सो अवसरमा शुभकामना व्यक्त गर्दै होटल पौवाका चिप अपरेटिङ अफिसर कृष्ण गौतम, बोर्ड अफ डाइरेक्टर धुर्व न्यौपाने तथा सरायँ नाचका संयोजक गोविन्द न्यौपाने, सरायँ नाच गाइड होम पल्ली मगर लगायतले परम्परा र संस्कृतिलाई जगेर्ना गर्नका लागि नयाँ पुस्तामा हस्तान्तरण गर्न जरुरी रहेकोमा जोड दिए । हिन्दु परम्परा अनुसार हरेक वर्षको बडादशैंका बेला एकादशीदेखि पूर्णिमासम्म सरायँ नाच्ने प्रचलन रहेपनि नयाँ पुस्तामा यसको महत्व हराउँदै गएकाले यसको जर्गेनाका लागि आफूहरुले कार्यक्रम आयोजना गरिएको होटल पौवा बुटवल शाखाका प्रबन्धक प्रकाश पाठकले बताए ।

यसैबीच होटल पौवाले यस वर्षको बडादशैंको अवसरमा आफ्ना विभिन्न ७ वटा शाखामा लिङ्गे पिङ राखेर अतिथीहरुलाई मनोरञ्जन प्रदान गरेको थियो । ‘जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ’–भन्ने मूल नारासहित नेपाली हस्पिटालिटीसहितको सेवा दिने उद्देश्यले देशभर आफ्नो शाखा विस्तारलाई समेत तीव्रता दिदै आएको होटल पौवाले लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पहुँच विस्तार गरेको छ । हालसम्म देशभरीका १५ स्थानबाट होटल पौवाले सेवा दिइरहेको छ । छिमेकी प्रदेश कर्णालीको जुम्ला, सुदूरपश्चिमको धनगढी, दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिङ्गे, रुपन्देहीको योगीकुटी र भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, गण्डकी प्रदेशको राजधानी पोखरा र नवलपुर खोटाङको हलेसी बाग्मती प्रदेशको सिन्धुली तथा संघीय राजधानी काठमाडौंको गौशालामा पौवाको सेवा सञ्चालनमा छन् । 

त्यसै गरी बागमती प्रदेशकै चितवनको भरतपुरमा र लुम्बिनी प्रदेशको औद्योगिक राजधानी बाँकेको नेपालगन्जमा शाखा विस्तार गरी शिघ्र सञ्चालनको तयारीमा रहेको छ । ‘स्वदेशी तथा विदेशी पाहुनालाई नेपाली आतिथ्यको न्यानोपन दिनु हाम्रो दायित्व हो । यसका लागि हामीले हाम्रा खानामा लगातार परिमार्जन गरिरहेका छौं ।’– ब्राण्डिङ प्रमुख भण्डारीले भने, नेपाली रैथाने खानालाई स्वदेशी र विदेशी पर्यटकमाझ लोकप्रिय बनाउँदै नेपाली खानाको अन्तर्राष्ट्रियकरण गर्ने अभियानमा हामी एक कदम अघि बढ्दैछौं ।

pauwa-saraya6.jpg