२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

ज्ञानेन्द्र शाहीले भैरहवामा भने–किसान नबाचिकन देश बाँच्दैन

आइतवार , कार्तिक ४, २०८१

भैरहवा, ४ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) ले किसान नबाचिकन देश बाँच्न नसक्ने बताएका छन् । उनले कृषिमा क्रान्तिको आवश्यकता रहेकोमा जोड दिएका हुन्

राप्रपा रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा प्रवक्ता शाहीले राप्रपाले देशको माटो सुहाउँदो क्रान्तिको कुरा गरेको बताए ।

उनले विदेशी स्याउ आयातमा रोक लगाउनुपर्ने आफूले पटकपटक माग गर्दै आएको बताए । उनले भने, ‘जुम्लाको स्याउको ब्राण्डिङ भएको छ । पाँच करोडको स्याउ बुटवलमा विक्री भयो । किसानको हातमा पैसा आएको छ । स्वदेशी वस्तुको प्रवद्र्धन गर्नुपर्छ ।’

उनले वार्षिक ४ खर्बको कृषि सामग्री नेपालमा आयात भइरहेको र त्यो पैसा रोक्न सके १० लाखका लागि रोजगारी सिर्जना हुने र नेपाली विदेश जानबाट रोक्न सकिने बताए ।

राप्रपा संसदीय दलका प्रमुख सचेतक समेत रहेका शाहीले विदेश परस्त नीतिका कारण सुन्दर देश भएर पनि नेपाल गरीब भएको बताए । उनले विदेशी चीज प्रयोग गरे, मगाए, वा खाए गाउँघरमा आफूलाई ठूलो ठान्ने प्रवृत्तिको विकास भएको बताए । ‘विदेशी सामान सजिलै आयात हुन्छन् । हजारौं व्यवसायी, उद्योगी, किसान पलायन भए । देश भाषणले बन्ने होइन, उद्योग, व्यवसाय, कृषि, कलकारखानाले बन्छ । देश नीतिले बन्छ, ’शाहीले भने ।

उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीको आवश्यकता रहेकामा जोड दिए । प्रवक्ता शाहीले देशको अवस्था सुधार्न यो व्यवस्था फाल्नुपर्नेमा जोड दिए । उनले भने, ‘देशको व्यवस्था र अवस्था सुधार्नपर्छ । यहाँ व्यक्ति खराब होइन, व्यवस्था खराब हो । नत्र जो प्रधानमन्त्री भए पनि किन असफल हुन्छन् ?’ उनले राप्रपा इमान्दारिता साथ अघि बढेको दावी गरे । उनले पार्टीले कार्यकर्ताको शिर निहुराउने काम नगरेको उल्लेख गरे ।

कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य राजेन्द्र प्रजापतिले राप्रपा कमजोर नभएको बताए । उनले राप्रपा भ्रष्टाचार विरोधी पार्टी भएको बताए ।

बागमती प्रदेश सभा सदस्य नुरज बज्राचार्यले २०८४ मा देश राप्रपामय बन्ने दावी गरे । उनले भने, ‘किसानका मर्का बुझ्दैछौं ।’

राप्रपा रुपन्देहीका कार्यबाहक जिल्ला अध्यक्ष अजय कुमार गुप्ताले अन्नको भण्डार भनेर चिचिने रुपन्देहीमै कृषि सामग्री आयात गर्नुपरेको बताए । उनले कृषिप्रधान देश नेपालमा किसान मर्कामा परेको बताए ।

राप्रपा रुपन्देहीका कार्यबाहक अध्यक्ष अजय कुमार गुप्ताको अध्यक्षता, जिल्ला सदस्य एवं सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) को स्वागत तथा जिल्ला सह–सचिव शंकर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।