२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

रास्वपालाई सत्तापक्षले भन्यो : भीड जम्मा गरेर न्याय निरुपणलाई प्रभावित पार्ने काम नगर

बुधवार , कार्तिक ७, २०८१

  • 802
    Shares
  • 802
    Shares
  • काठमाडौं, ७ कार्तिक । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित पार्ने काम नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेको छ ।


    पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी र संगठित अपराध अनुसन्धानका लागि पक्राउ परेको विरोधमा रास्वपाले विरोध प्रदर्शन गरिरहेका बेला सत्तारुढ दलका नेताहरुले न्याय निरुपणको प्रक्रियालाई प्रभावित गर्नेगरी विरोध प्रदर्शन नगर्न सचेत गराएको हो ।

    संसदीय छानविन समितिले दिएको प्रतिवेदनको आधारमा संसदले दिएको निर्देशनअनुसार लामिछानेलाई प्रहरी हिरासतमा राखेर अनुसन्धानको काम भइरहेका बेला त्यसलाई प्रभावित पार्ने काम नैतिक हिसावले पनि उचित नहुने भएकाले त्यसो नगर्न आफूहरुले सो पार्टीलाई आग्रह गरेको सत्तारुढ दलहरुले बताएका छन् ।

    बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले भीड जम्मा गर्ने र लोकतन्त्रलाई कमजोर बनाउने, न्याय निरुपणको प्रक्रिया र अदालतलाई समेत प्रभावित तुल्याउने खालको रास्वपाको गतिविधि उचित नभएको निस्कर्ष निकाल्दै सबै सत्तारुढ दलहरुले पनि आ—आफ्नो तर्फबाट त्यसो नगर्न वक्तव्यमार्फत आग्रह गर्ने निर्णय पनि गरेको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए । बैठकले सो न्यायिक प्रक्रियालाई स्वतन्त्र, निष्पक्ष रुपमा अघि बढाउन सत्तापक्ष प्रतिवद्ध रहेको उल्लेख गर्दै सबै पक्षको कुरा सुनेर अदालतले पनि आफ्नो निस्कर्ष दिने दिने विश्वास व्यक्त गरेको छ ।

    बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायतका सत्तारुढ दलका नेताहरुको सहभागिता रहेको थियो ।