
बुधवार , कार्तिक ७, २०८१
लुम्बिनी, ७ कार्तिक । लुम्बिनी विकास कोषले छिमेकी राष्ट्र भुटानको गृह मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधि मण्डलसँग बुधबार भेटघाट तथा कार्यालयमा स्वागत गरेको छ । कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र सदस्य सचिव सानुराजा शाक्यले भुटानका गृह मन्त्रालयका सचिव सोनाम वाङगेलसहितको टोलीलाई कार्यालयमा स्वागत गरेका हुन् ।
कोषाध्यक्ष भट्टराईले स्वागत गर्दै छिमेकी देश भुटानसँग नेपालको वर्षोदेखिको पुरानो सम्बन्ध रहेको बताउँदै बुद्ध जन्मस्थल लुम्बिनीमा भुटान सरकारसँग सहकार्यको वातावरण बनाउन आग्रह गरे ।
उक्त अवसरमा सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीमा भुटान सरकारले गुम्बा निर्माणका सन्दर्भमा सहकार्य गर्न चासो राखेकोमा खुसी व्यक्त गरे । भेटघाटमा भुटानका गृहसचिव सोनामले लुम्बिनीमा गुम्बा बनाउने सन्दर्भमा चासो राख्दै बुद्ध जन्मस्थल लुम्बिनीको प्रवद्र्धनमा सहकार्य गर्न इच्छुक रहेको बताए ।
भेटघाटमा कोषका योजना प्रमुख स्मिता भट्ट, वरिष्ठ निर्देशक ज्ञानिन राई र बोर्ड सदस्य श्याम रोक्काको उपस्थिति थियो । गृह सचिवको प्रतिनिधि मण्डलले लुम्बिनीस्थित मायादेवी मन्दिर र कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्रको समेत भ्रमण गरेको कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए । प्रतिनिधि मण्डलले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री, सचिव लगायतका अधिकारीहरुसँग पनि छलफल गर्ने बताइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij