
बिहिवार , कार्तिक ८, २०८१
बाँके, ८ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेको खजुरामा रहेको सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको अवलोकन गरेका छन् ।
धार्मिक कार्यबाट नागरिकले मुट्ठी दान गरेर निर्माण गरी सरकारलाई हस्तान्तरण गरिएको लुम्बिनी प्रदेशको एक मात्र क्यान्सर अस्पतालको बुधवार मुख्यमन्त्री आचार्यले अवलोकन गरेका हुन् । अवलोकनका क्रममा मुख्यमन्त्री आचार्यले बिरामीहरुसँग अस्पतालले दिएको सेवाबारे जिज्ञासा राखेका थिए ।
सो अवसरमा उनले अस्पताल प्रशासनलाई संघीय सरकार मातहतको अस्पताल भए पनि प्रदेशले नियमले दिने सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । प्रदेशले गर्न सक्ने योजनाहरु लिएर प्रदेश राजधानी आउन आग्रह गर्दै उनले दरबन्दी र किताबखानामा दर्ता गर्ने विषयमा आफुले संघीय सरकारमा पहल गर्ने बताए । बिना दरबन्दी अस्पताल सञ्चालन भएकोप्रति आश्चर्य प्रकट गर्दै आफ्नो तर्फबाट गर्न मिल्ने सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
त्यसअघि अस्पतालका कार्यकारी निर्देशक डा. प्रकाशप्रसाद साहले विगत ९ वर्षदेखि दरबन्दी बिना काज र दैनिक ज्यालादारी कर्मचारी र चिकित्सकहरुबाट अस्पताल सञ्चालन भइरहेको, अस्पतालको जनशक्तिलाई निजामती किताबखानामा दर्ता नगरिँदा स्वास्थ्यकर्मीहरु टिकाउन असहज बनेको, चिकित्सक तथा नर्सहरुको आवास नहुँदा सेवा प्रभावित बनेको जस्ता समस्याहरु प्रस्तुत गरेका थिए । डा. साहले प्रविधि, स्रोतसाधन हुँदाहुँदै पनि जनशक्तिको व्यवस्थापन नहुँदा सञ्चालनमा असहज बनेको जानकारी दिए ।
अवलोकनमा प्रदेश सभा सदस्य रत्न खत्री, लुम्बिनी प्रदेशका प्रमुख सचिव महादेव पन्थ, बर्दिया र बाँकेका सांसदहरुको सहभागीता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij